चैत्र १९ पाल्पा । बुटवल उपमहानगरपालिकाको कोरोना भाइरसबाट संक्रमितका लागि स्थापना गरिएको अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोप्रति प्रदेश ५ प्रदेशसभा सदस्य वीरबहादुर रानाले शंका व्यक्त गरेका छन् ।
उक्त अस्पतालमा पाल्पा रिब्दीकोट गाउँपालिका- ५ कुसुमखोला सैटोला घर भई रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका बाबुराम थापाको मृत्यु भएको थियो। ३४ वर्षीय थापा विदेशबाट फर्किएका थिए। उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए। अस्पताल र सरकारी संयन्त्रले भने उनको मृत्यु कोरोनाबाट नभएको बताएका थिए।
थापा चैत ६ गते युएईबाट नेपाल आएका थिए। उच्च ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए। उनलाई १३ गते क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा उनको आइतबारमृत्यु भएको थियो । कोरोना परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो। कोरोना परीक्षण गर्ने सरकारी प्रयोगशालाले उनमा कोरोनाको लक्षण नभेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो।
प्रदेशसभा सदस्य रानाले उक्त अस्पतालले थापाको राम्रोसँग उपचार नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन्। त्यसरी मृत्यु हुँदा पनि सरकारले सामान्य रूपमा लिनुले गम्भीर प्रश्न उठाएको रानाको भनाइ छ।
विज्ञप्ति जारी गर्दै रानाले भनेका छन्, 'यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइन र आइसोलेसन वार्डप्रति गम्भीर प्रश्न उब्जाएको छ।'
सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा जोसुकैलाई कोरोनाको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राख्दा अरुले पनि थापाले जस्तै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रदेशसभा सदस्य रानाले सचेत गराएका छन्।
मृतक थापाको परिवारलाई सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने पनि रानाको माग छ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij