महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् ।यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन्।
आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन हिमाल थापाले जानकारी दिए ।यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्दछ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ । २०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ।
लाहुरे टाँसिएको भिर:सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । परापूर्वकालमा जागिरका लागि एक जना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् ।जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ । यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij