काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार जेलमुक्त भएका चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइएको छ।
केन्द्रीय कारागारबाट हिरासतमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।
अध्यागमन विभागले उनलाई ५० हजार जरिमाना र नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।
उनका अनुसार शोभराजलाई शुक्रबार साँझ ६ बजे कतार एयरवेज फ्रान्स पठाएको हो ।
बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।
कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए।
आजमात्रै उनलाई अध्यागमन विभागमा पुर्याएको थियो। अध्यागमन विभाग पुर्याएसँगै उनलाई डिपोर्टको प्रक्रिया अघि बढाएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij