बैशाख २० काठमाडौं।नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’
नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ संक्रमितको संख्या ३५ हजार नाघेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४७ पुगेको छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij