अन्तर्वार्ता
लुम्बिनी पाना । रोजगारीको सिलसिलामा दक्षिण कोरियारहेका रुपन्देही देवदह -७ का अनिल लामिछाने मगर काम सङ्गै सामाजिक कार्यमा समेत क्रियासिल रहेका छन। सामाजिक संजाल फेसबुकमा मगर संसार फोटो ग्यालरी ग्रुप निर्माण गरेर आर्थिक अवस्था कमजोर भएका सयौं विरामिलाई करोडौं रुपैयाँ उपचारका लागि आर्थिक सहयोग संकलन गरि सहयोग गरिसकेका लामिछाने मगरलाई विदेशमै भएपनी समाजसेवा गर्ने भोक किन र कसरी जाग्यो । काम सङ्गै समाजसेवा गर्दाका अनुभव लगायतका विषयमा अनिल लामिछाने मगर सङ्ग गरिएको कुराकानी ।
ग्रुप निर्माण कुन उदेश्यका लागि भएको थियो ?
फेसबुक ग्रूप मगर संसार फोटो ग्यालरीको खास उद्देश्य विश्व भरिका मगरलाई एकजुट गराउनु र हरेक मगर वस्तीका
मगर गतिविधिहरुलाई इन्टरनेटको यो दुनीयामा बाहिर ल्याउनु/देखाउनु,प्रचार गर्नु , एकताको सन्देश दिनु हो । यसको अलावा मगर समुदाय भित्र मौलाएका विकृतिहरु,बिसङ्गतिहरु , लोभ हुदै गएको भेषभूषा,भाषा, धर्म, लिपि, संस्कार ,संस्कृति,रहनसहन, चालचलन अर्थात मगर मौलिक पहिचानलाई जोगाई राख्न ,भाबी पुस्तालाई कसरी हस्तांतरण गर्न सकिन्छ भन्ने एउटा उद्देश्य बोकेरनै यो मगर संसार जन्माएको हो । जसले गर्दा अनलाइन मार्फत छोटो समयमै हामी लाखौ मगर एकै ठाउँमा जोडिएका छौ । सबैले माया गरीदिनु भएको छ खुसि लाग्छ।त्यही माथि मगर संसार आर्थिक अवस्था कमजोर भएका बिरामीको लागि सुन्दर मन्दिर जस्तै बनेको छ।
ग्रुप मार्फत बिरामीहरुलाई सहयोग गर्ने योजना किन र कसरी जाग्यो ?
सहयोग एउटा सन्तुष्टि रहेछ। मगर संसार स्थापना गर्नु भन्दा धेरै पहिला देखी नै आफुले सकेको आर्थिक होस वा नैतिक भौतिक रुपमा सहयोग गरीरहन्थे। मगर संसार स्थापना गर्नुअघि अनलाइनमा दुइ ओटा प्रतियोगितामा सहभागी भएर पुरस्कृत भएको थिए। सोहि समयमा प्राप्त गरेको दुबै पुरस्कार देवदहको मगर भवन र देवदह मै रहेको अनाथ बाल आश्रममा खाद्यान्न र स्टेशनरी समान सहयोग गरेको थिए। धेरै साथीहरुले बिभिन्न आर्थिक अवस्था कमजोर रहेका, उपचार गर्न नपाएर, अकालमा ज्यान जान लागेका बिरामीहरूको सहयोग पोस्ट लिएर म्यासेजमा आऊनु हुन्थ्यो त्यो बेला सकेको सहयोग गर्थे।
जब मगर संसारलाई २०७४ साल बैशाखमा स्थापना गरे, त्यसपछि ब्यक्तिगत सहयोग गर्नु भन्दा मगर संसारलाई साथमा लिएर सहयोग अभियान गर्न सकियो भने अन्य इच्छुक सहयोगीहरु पनि म सँग अर्थात मगर संसारसंगै नजिक हुन जोडिन सक्छ है भन्ने सोच आयो र स्थापनाको एक बर्ष पछी २०७५ साल जेठ महीनामा पहिलो अभियान सुरु गरे। दुइ बिरामीलाई एक साथ अभियान गरियो जून बेला म्याग्दीको बिरामी कल्पना पुन र तनहुको बिरामी सुयाना मगरको लागि अभियान सुरु गरियो र त्यो बेला २ हप्ता मै ३ लाख बढी नेपालि रुपैयाँ संकलन भएको थियो। जसले म र मेरो टीमलाई हौसला र सफलता मिल्यो। त्यसपछि मगर संसार बाट आजको दिन सम्म निरन्तर सहयोग अभियानमै लागि परेका छौ।

ग्रुपको माध्यमबाट नेपालका कुन कुन ठाउँका कति जना विरामीलाई कति रकम बराबर सहयोग हस्तान्तरण भयो होला ?
सहयोग अभियान मार्फत नेपालको धेरै जिल्लाहरूमा रहेका पिडितहरूको सहयोग गरियो । कुनै जिल्लामा धेरै पल्ट गरियो भने कुनै जिल्लामा सहयोग गर्न सकिएको छैन । सकेसम्म सहयोग उठाउन कसैलाई नपरोस सहयोग अभियान गर्न निकै गाह्रो बिषय पनि हो। अनेक कुरा बचनहरुलाई सहदै सामना गर्दै आज यो स्थान सम्म मगर संसार आएको छ। र भन्नु पर्दा आजसम्म १९० जना गरीब,दुःखी, बिपन्न, बिभिन्न समस्यामा परेका बिरामीलाई सहयोग गरियो।
सहयोग पुगेको सबै जिल्लाको नाम उच्चारण गर्दा याद नहुन सक्छ तरपनि काठमाडौं, इलाम, झापा,उदयपुर,बागलूङ, सिन्धुली, धनुषा,दैलेख, मोरङ,सर्लाही,खोटाङ्ग, भोजपुर,रुकुम, धादीङ ,संखुवासभा,धनकुटा,रुपनदेही,मकवानपुर, गोर्खा, तनहु, स्याङ्जा ,म्याग्दी, पर्बत,अर्घाखाँची, रोल्पा, प्यूठान, बाके, सुर्खेत, नवलपरासी, नवलपुर ,इटहरी,बारा, नुवाकोट, कपिलबस्तु,दाङ ,पाल्पा,कास्की,डोटी लगायतका जिल्लाका बिरामीलाई सहयोग प्रदान गरियो।
मगर संसारको पहलमा दुइ ओटा घरको ब्यवस्था गरियो। आगोमा घर गोठ जलेकालाई ,आमा बाबा बिहीन बालबच्चा लाई खाद्दन तथा स्टेशनरी समान पनि प्रदान गरियो,अस्पतालमा सुत्केरी महिलालाई ,लास उठाउन पैसा नभयर छटपटाई रहेका पिडितलाई समेत मगर संसारको पहलमा सहयोग गरियो। विभिन्न रोगबाट पिडित बनेका बिरामीलाई धेरै लाई सहयोग गरियो। अपिल मात्र हजारौ गरियो। ३/४ हजार सहयोग सयौंलाई गरियो। प्रत्यक्ष भने १९० जनालाई गरियो।
बिरामीको सहयोग रकमको लागि पोस्ट मार्फत सबै सामु अपील गर्छौ । विश्वासले होला सहयोगीहरु हामी कहाँ आउनु हुन्छ आएको सहयोग जून बिरामीको लागि आएको हो उसैलाई दिने गर्ने गर्छौ। सहयोग रकम भने कुनैले लाखौँ पाएको हुन्छ भने कुनैले कम पाएको हुन्छ। भने कुनैले कत्तिपनि पाएको हुदैन समग्रमा भन्नुपर्दा आज सम्म डेढ करोड बढी सहयोग गरी सकेका छौं ।
आर्थिक सहयोग संकलन गर्दा आलोचना अथवा प्रश्न र हिसाबकिताब को कुरा आयो कि ?
सबै भन्दा गारो काम नै पैसा अर्थात आर्थिक कारोबार हो। सामाजिक काममा काम गर्दा होस या आर्थिक कारोबार गर्दा आलोचना ,आरोप नआउने भन्ने हुदैन। आयो भन्दैमा निराश हुन भएन आफ्नो काममा आफु निर्धक्क हुनु पर्छ। काम जसले गर्छ आलोचना उसैको आउछ। मगर संसारबाट सहयोग अभियान गरी रहदा आजसम्म प्रत्यक्ष आलोचना भने आएको छैन कहीले काहीं नबुझेर प्रश्न भने गर्नु हुन्छ र त्यसको बारे म आफैले क्लियर गर्दिन्छु, त्यसपछि कुनै ले माफी माग्नु हुन्छ भने कुनैले थाहा नभएको जानकारी दिनु हुन्छ। र सहयोगीहरूको लिस्ट धेरै हुदाँ भने लिस्टमा नाम ठेगाना र रकम तलमाथि हुन जादो रहेछ त्यो बेला भने सहयोगी आफैले यसमा मिस्टेक रहेछ भन्नु हुन्छ । तर आजसम्म करोडौँ माथि सहयोग संकलन गरेर बिभिन्न ठाउँमा बिरामीलाई दीदा कसैले पनि हिसाब किताब तलमाथि भएको मगर संसारले खाएको हिनामिना गरेको भन्ने जस्ता प्रश्न गर्नुभएको छैन किनकि हामीले उठेको रकम सबै दिने गर्छौ। तर मगर संसारमा बिरामी सहयोग ग़री रहदा फेक आइडी बाट भने निकै आलोचना गरेको पाइन्छ । त्यो बेला भने आलोचना गर्ने बाटो हामीले नदीएको रहेछ जस्तो लाग्छ। गल्ति छ भने हामीलाई रियल आइडी बाट सिधै सुझाव दिन अनुरोध पनि गर्दछौं।
अहिले उपचार गर्न नसक्ने विरामीका लागि राहत कोषनै बनाएर समेत काम गर्नुभएको छ, त्यो फण्ड मार्फत कस्ता प्रकृतीका विरामीलाई कति रकम बराबर सहयोग हुन्छ?
बिरामीको लागि भन्दा पनि मगर संसारले गर्ने हरेक क्रियाकलापको लागि आर्थिक बिना हामीलाई काम गर्न सम्भव नदेखिएकोले एउटा मगर संसार राहतकोष नाम दिएर कोष खड़ा गरेका छौ ।
यसमा हामी कोष बढाउन भन्दा पनि केही सहयोगीहरुले कोषमा राख्नु पछी कुनै बेला काम लाग्छ भनेर दिएको रकमहरु जम्मा गरेको हुन्छौ। र बर्षको ३/४ चोटी कोषको पैसाले परिस्थिति अनुसार सहयोग गरेका छौं ।हिजोको दिनमा कोषबाट महामारी कोरोनाको बेला पोखरा र बुटवलमा सडकमा रहेका र बृद्धा आश्रममा रहेका आमा बाबाहरुलाई मास्क ,सेनिटाइजर बितरण सँगै खानाको ब्यवस्था गरेको थियौ।
बागलूङमा गएको बाढीपिडितका लागि पनि आर्थिक सहयोग गरौ।अनलाइन तालीमहरु जस्तै उत्घोषक तालीम, मगर पंडित मापा वापा सम्बंधि तालीम,दोस्रो पल्ट महामारी भूकम्पको बेला पश्चिममा आर्थिक सहयोग गर्यौ , बाल गृहमा रहेका ७ जना अभिभावक बाबुनानी हरुलाई स्टेशनरी समान र जाडोमा लगाउने न्यानो कपडा प्रदान गर्यौ । र सहयोग बराबर भन्दा पनि बिरामी अवस्था, परिवारको अवस्था कत्तिको नाजुक छ, बिरामीको अवस्था कस्तो छ ,रोग के छ सबै बिचार गरी सक्दो अवस्था हेरी कोषबाट सहयोग पनि गरेका छौं । र यस्ता सहयोग धेरै सम्पन्न गरियो।
अन्तिममा झोर्ले बुलेटिन मार्फत के भन्न चाहानुहुन्छ ?
झोर्ले बुलेटिनलाई बिशेष धन्यवाद दिन चाहन्छु। किनकि यो एउटा मेरो लागि अवसर र सौभाग्य थियो। र कति पएलाई थाहा नहुन सक्छ मगर संसार के हो यो किन आवश्यक छ यो बारे बुझने मौका र बुझाउने मौका दिलाई दिनु भयो।आगामी दिनहरुमा पनि हाम्रो ग्रुप मार्फत हुने बिभिन्न सामाजिक गतिविधिलाई सर्वसाधारण माझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेका छौं।
अनिल लामिछाने मगर हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन्। दुबईमा मृत्युदण्डको सजाय पाएका पहलमान थापा मगरलाई स्वदेश फिर्ता ल्याउन समेत मगर संसार फोटो ग्यालरी मार्फत आर्थिक सहयोग संचालन गरिएको थियो। पहलमानलाई आवश्यक पर्ने ५० लाख रकम विभिन्न माध्यमबाट छोटो समयमै संकलन भएको थियो।
नोट : प्रस्तुत अन्तर्वार्ता लुम्बिनी पाना मिडियाद्वारा प्रकाशित 'झोर्ले बुलेटिन'बाट साभार गरिएको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij