लुम्बिनी पाना, अन्तर्वार्ता
लुम्बिनी पाना । भाषा मानिसको दैनिकीसँग प्रत्यक्ष रुपमा जोडिएको विचार प्रवाह गर्ने माध्यम हो । तर भाषाको प्रयोजन विचार आदानप्रदान सम्म मात्र सिमित हुँदैन । भाषाले संस्कृति बुझाउँछ, समाज बुझाउँछ । भाषा, संस्कार र संस्कृति हाम्रो अमूल्य सम्पदा हुन्। यिनको संरक्षण गर्नु हामि सबैको दायित्व हो।
विगत लामो समयदेखि मातृभाषा संरक्षणका लागि निरन्तर रुपमा लागिरहेका भाषिक संरक्षणका योद्दा भिम प्रसाद गुरुङ २०५५ सालदेखी मगर र गुरुङ्ग भाषा समेत अध्ययन गराउने गरि स्थापना भएको देवदह मदर ठड्स एकेडमीका संस्थापक हुन् ।उनीसँग मातृभाषा अध्यापन गराउदाको चुनौती, संरक्षण लगायतका विषयमा लुम्बिनी पाना मिडियाले गरेको कुराकानी।
तपाई मातृभाषा संरक्षणको अभियान्ता हुनुहुन्छ, अभियानमा लाग्दाका चुनौतीको बारेमा बताइदिनुस न ?
मातृभाषा उसको जातिय पहिचान हो भन्ने कुरा बुझेर म यसको संरक्षण र संबर्धनमा लागेको है । यो कार्य निक्कै चुनौतिपूर्ण छ । सम्वन्धित समुदाय उत्तरदायी बन्न नसक्नु एउटा मुख्य कारण हो किनकी उसले आफ्नो पहिचानको जगेर्ना गर्न आफ्नो दायित्व पुरा गर्न नसक्नु त्यता तिर ध्यान नदिनु पनि हो । अर्को कारण राज्य हो । राज्यले मातृभाषा जगेर्ना गर्नको लागि हातिको देखाउने जस्तो व्यवहार गरि रहेको छ । संविधानमा मातृभाषामा प्राथमिक शिक्षा लिन पाउने अधिकार दिए पनि तत्सम्बन्धी कुनै चाँजो मिलाएको देखिदैन । न शिक्षक तयार गरि दिएको छ न तलबका लागि बजेटिङ नै गरेको छ । तसर्थ यी दुइ कारणले मातृभाषाको जगेर्ना गर्न निक्कै चुनौतिपुर्ण छ । तै पनि आफ्नो दायित्व निर्वाह गर्न आफ्नो ठाउमा राज्यको सोच सँगै निजि तवरबाट विद्यालय स्थापना गरि मातृभाषा पठनपाठन गरिरहेको छु ।
विद्यालयको प्राथमिक तहमा गुरुङ्ग र मगर भाषाको समेत अध्यापन गराइराख्नु भएको छ, अहिले कस्तो छ अवस्था ?
मातृभाषाको संरक्षण संबर्धन गर्न सबै आ आफ्नो ठाउबाट लाग्न जागरुक गर्न लागि परेको छु । २०५५ सालमा देवदह मदर टड्स एकेडेमी स्थापना गरि दुइ मातृभाषा तमु र मगर भाषा अनवरत पढाई आएका छौं । अंग्रेजी लगायत विदेशी भाषाको प्रभावले मातृभाषा पढ्नेहरुको संख्या कम भएको हो कि भन्ने भान बढेको छ । पहिला गुरुङ्ग जतिलाई तमु भाषा अनिवार्य र मगर जतिलाई मगरभाषा अनिवार्य गरिएकोमा हाल यसलाई अभिभावक के सुझाबमा सबैका लागि ऐच्छिक गरिएको छ । फेरि अहिले पुरा पाठ्यभारमा मातृभाषा पढाइएको छ । हामीलाई हिजै देखि शिक्षक छनौटमा समस्या छ मातृभाषा जानेको छ योग्यता प्रमाणपत्र छैन शैक्षिक प्रमाणपत्र छ मातृभाषा जानेको छैन । त्यस्तै गरि हामीले मातृभाषा शिक्षकलाई भिन्दै तलब सुबिधा दिन सकेका छैनौ किनकी हामीले विद्यार्थीबाट पनि अतिरिक्त शुल्क लिएका छैनौ । मुख्य समस्या अव पाठ्यपुस्तकको छ पहिला हामीले पाठ्यक्रम विकास केन्द्रबाट ल्याउने गरिन्थ्यो भने उसले अव पुस्तक स्थानिय तह मै व्यवस्थापन गर्न भनेको छ । स्थानिय तहले यता तिर ध्यान दिन सकेको छैन ।
नेपालमा मातृभाषाको संख्या कति छ, कति होलान् जीवित ?
राष्ट्रिय जनगणना २०६८ मा १२३ भाषा थियो भने जनगणना २०७८ मा १४२ जाती को १३१ मातृभाषी भएको पाइएको छ । तर अहिले धेरै भाषा लोपोन्मुख अवस्थामा छन विशेष गरेर आदिवासी जनजाति, सिमान्तकृत जातिहरुको भाषाहरु सम्वन्धीत समुदायका कम चासोका कारण र राज्यको बेवास्ताका कारण । पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले २६ वटा मातृभाषाको पुस्तकहरु प्रकाशित गरेको छ ।
मातृभाषा संरक्षण र प्रवर्धनका लागि राज्यले कस्तो खालको भूमिका खेल्नुपर्छ ?
मातृभाषाको संरक्षण र संबर्धनका लागि राज्यको ठुलो महत्वपुर्ण भुमिका रहन्छ । अहिले नेपालमा कैयौं युवाहरु विदेशी भाषा सिकेर बिदेश रोजगारका लागि बिदेशिएका छन् । नेपालका मातृभाषाहरु सिकेर यहाँ केहि अवसर नदेखे पछि रोजीरोटीको सन्दर्भमा विदेशिनु स्वभाविक हो । भारतको सिक्कीममा सबै मातृभाषाहरुलाई राज्यले नै मान्यता दिइ सम्बन्धित भाषिय विद्यार्थीहरुलाई सम्वन्धित मातृभाषा पढ्ने अवसर दिलाए पछि त्यहाका सैयो युवाहरुले शिक्षण गर्ने अवसर पाए । हाकै विद्यालयमा ३० जना सिक्कीमे शिक्षक शिक्षिकाहरु आएर तमुभाषा सिकेर गएका शिक्षकहरुले सरकारी तलब भत्ता मै जागिर पाएका छन् । यहाँ पनि बाहुल्य स्थानहरुमा विद्यालय खोली मातृभाषा पढाउने, आवश्यक स्थानहरुमा मातृभाषाहरुलाई कामकाजी भाषा बनाउदा धेरै युवाहरूले अवसर पाउने पनि थिए मातृभाषाको संरक्षण र विकास पनि हुने थियो ।
स्थानीय तहमा मातृभाषालाई कामकाजको भाषा बनाउनमा के के समस्या देख्नुहुन्छ ? अथवा केले अवरोध गरेको छ ?
राष्ट्रिय भाषा आयोगले सबै प्रदेशमा अन्तरक्रिया गरि अनुसन्धान गरि कुन कुन प्रदेशमा कुनकुन भाषालाई काम काजी भाषा बनाउने भनेर सरकारलाई आफ्नो प्रतिवेदन दिइ सकेको छ । तर के ले रोकेको छ म भन्न सक्दिन मलाई लाग्छ यो राज्यको द्वैध चरित्र हो । स्पष्ट नितिका अभावले कार्यन्वयनमा समस्या हो । यसको महत्वका बारेमा जानकार नभएर पनि हुन सक्छ विशेष गरेर राज्यले माछा माछा भ्यागुताको चाल हो भन्ने लाग्छ मलाई ।
हालसम्म प्राप्त उपलब्धिबाट सन्तुष्ट हुनुहुन्छ ?
मातृभाषाको संरक्षण संबर्धनमा मेरो तर्फबाट म त सन्तुष्ट नै छु । संस्थागत हिसाबले यो इन्डियाको हावाले भेट्ने ठाउमा मेरो पहलमा विद्यालय नै खोलेर लामो समय देखि मगर र तमु भाषा पढाउदै आएको छु । त्यस्तै गरि म स्वदेश तथा विदेश तमु भाषा र तमु लिपि खेमा लिपि प्रशिक्षणमा लागि रहेकै छु । तर एक्लै लागेर होइन सबैलाई लिएर हिड्न सकि रहेको छैन अहिलेको युगमा प्रविधि नसिकेर मातृभाषा तिर लागेर हामी फेरि पछाडी फर्कने ? भन्नेको संख्या पनि धेरै छन । हामी जहा जसरी रहे पनि हाम्रो जातिय पहिचान भाषा र संस्कृति हो भन्ने कुरा धेरैलाई बुझाउनु छ म त्यो अभियानमा छु आउनुहोस सबै लामबद्ध होऔं । धन्यवाद
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij