देवदह। रूपन्देहीको देवदह नगरपालिका वार्ड नम्बर ५ मा अवस्थित देवदह मदर टङ्स एकेडेमीले विद्यार्थीहरूका लागि नमुना मतदानको अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।
मतदानको महत्वसँगै मतदान शिक्षा विद्यार्थीले जान्नुपर्नेको प्रमुख कारण उनीहरू भविष्यका जिम्मेवार नागरिक बन्न सकून् भन्ने हो। लोकतान्त्रिक प्रणालीमा नागरिकको मत नै सरकार निर्माणको आधार हुन्छ र यसले देशको भविष्यलाई निर्धारण गर्छ। विद्यार्थीहरूले मतदान प्रक्रियाबारे ज्ञान हासिल गर्दा उनीहरूलाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत हुन्छन्। यसले उनीहरूलाई राजनीतिक प्रणाली, नीति निर्माण र सामाजिक न्यायका मापदण्डहरूसँग परिचित गराउँछ। साथै, मतदान शिक्षाले विद्यार्थीहरूलाई समाजमा सक्रिय भूमिका निभाउन प्रेरित गर्छ र उनीहरूलाई व्यक्तिगत र सामूहिक जिम्मेवारीको महत्त्वबारे जागरूक बनाउँछ। यसरी, मतदान शिक्षा विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य रामबहादुर गुरुङले "नमूना मतदान अभ्यास कार्यक्रमले विद्यार्थीहरूलाई मतदाता शिक्षा प्रदान गर्दै उनीहरूलाई आफ्नो मताधिकारको सही प्रयोग गर्न सिकाउने संगै उनीहरूलाई नागरिकका रूपमा जिम्मेवार बनाउन मद्दत गर्ने र राजनीतिक प्रणाली, नीति निर्माण, र सामाजिक न्यायका सिद्धान्तहरूसँग परिचित गराउँन मद्दत गर्ने बताउनुभएको छ।
यस कार्यक्रम मार्फत विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्यबारे सचेत रहन, समाजमा सकारात्मक परिवर्तन ल्याउन, र जिम्मेवार नागरिकको भूमिका निभाउन प्रेरित हुन मद्दत पुर्याउने धारणा व्यक्त गर्नुभएको छ।
उक्त नमुना मतदान कार्यक्रममा कक्षा ७ का विद्यार्थी सोहम शर्माले पहिला बुबाआमाले मतदान गर्न जाने बेलामा केको लागि मतदान गर्न जानुभएको होला मतदान भनेको के होला भन्ने सोच्थे तर आज आफै मतदान को नमुना अभ्यास गर्न पाउँदा मतदानको महत्वका बारेमा जान्ने अवसर पाएको उनले बताएका छन्।
उक्त मतदान कार्यक्रममा कक्षा ५ देखि १० सम्मका २१३ जना विद्यार्थीले मतदानको नमुना अभ्यास गरेको विद्यालयका सह प्राचार्य एमलाल शर्माले जानकारी दिनुभएको छ। उक्त नमुना मतदान अभ्यास कार्यक्रम विद्यालयको रेड क्रस कमिटी र बाल क्लब पुनर्गठन गर्ने सन्दर्भमा भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij