ओइलिएको गाउँ
आज गाउँ सङ्ग अचानक मेरो भेट भयो,
न कुनै स्वभावमा परिवर्तन, न कुनै घमण्ड
न त कुनै अहमता, गाउँ उहि पुरानै स्वरुपमा थियो,
आखीभौंमा लागेको धुलोको रेखी टकटक्याउन
नपाउदै गाउँले मलाई सोधिहाल्यो,
कस्तो अस्थिर अनि चन्चलता,
आत्तिए जस्तो अनि हतार भए जस्तो
केहि नपुगे जस्तो
विचलित भएजस्तो अनुहार बनाएर
कहाँ हिडिरहेका छौ ?
गाउँले मलाई फेरी प्रश्न गर्यो
डराए जस्तो, केहि हराए जस्तै
कसैलाई खोजे जस्तो गरेर
कहाँ हिडिरहेका छौ ?
शहरको धुलो अनि कोलाहल सहने
बानी परिसकेको थियो मलाई,
अभाव सङ्ग जुड्न सिकिसकेको थिए मैले
प्रश्न सङ्गै गाउँले गुनासो पोख्न थाल्यो मलाई,
हिजो तिमिले बा सङ्गै बारीमा गएर
बिराएका स-साना पाटाहरु
लडिबुडि खेलेका कान्ला अनि बाटाहरु
तिमिले खेलेका भिर अनि पाखाहरु
तिमि आउने बाटो हेरेर टोलाइरहेका छन्,
तिम्रो बाले मोहि पार्ने बेला
तिमि लडिबुडी खेल्ने ठेकी र मदानी
अनि बा लाई जिद्दी गरिरहदा
तिमिले 'गोरस' पाउने बटुको
खिया लागेर बसेका छन् ।
के तिमिलाई याद छ
तिमिले खाने नास्पति अनि बेरुलोको बोटहरु
गुच्छा अनि भुरुङ खेलेका साथीहरू
तिमि आउने बाटो हेर्दै बसिरहेका छन् ।
तिम्रो घरको छानो चुहिने भएको छ,
पिँढीमा कमिलाले घर बनाएका छन्
तिमिले खेल्ने आगन
तितेपाती र बनमाराले ढाकिएका छन् ।
तिमिले घास काट्ने
अनि बस्तु चढाउने बारीमा
वनकिरा डुल्छन,
तिमिले आमाको हात समाउदै
हुर्किएको गोरेटो बाटो झाडी भएका छन्
मकै पिस्ने अनि धान कुट्ने ढिकी र जाँतोमा
आसि राख्ने खुर्पेटो अनि कोदो राख्ने डालोमा
माकुरोले जालो लगाएका छन् ,
धारा प्रवाह रुपमा
मेरो गाउँ अनि घरको हालखबर
सुनाइसकेपछी
गाउँ म सङ्ग विदा भयो,
मानसपटलमा आउन थाले गाउँ अनि घर
सङ्गै भुरुङ खेलेका साथी
मोटर गुडाएको गोरेटो बाटो,
आमा सङ्ग ताते-ताते गर्दै खेलेको आङ्गन
बाबाले डोको बिसाउने देउरालीको चौतारी,
आँखा वरिपरि घुम्न थाले गाउँका यादहरु
म गाउँ जाने बाटो हेरेर टोलाइरहे,
गाउँ जाने बाटो हेरेर टोलाइरहे,
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij