लुम्बिनी पाना- सम्पादकीय
बुटवल-नारायणगढ सडक खण्ड विस्तार कार्यको सुरुवात भएको ५ वर्ष पुगिसकेको छ । यो अवधिमा जनताले खेप्नुपरेको सास्ती वर्णन गरिसाध्य छैन । विकास निर्माणको कार्य गर्दा केहि हद सम्म समस्या आउनु स्वभाविक हो । तर बुटवल- नारायणगढ सडक खण्ड विस्तारकार्य पटक-पटक म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन । जसको कारण यो सडक भएर ओहोरदोहोर गर्ने लाखौ सर्वसाधारणको यात्रा कष्टकर बनेको छ ।
पानी पर्दा हिलो, घाम लाग्दा धुलो यो सडकको पहिचान बनिरहेको छ । बिहान लगाएको कपडा घर फर्किदा अर्कै रंगको भइसकेको हुन्छ । धुलोले आँखामा संक्रमण संगै स्वास्थ्यमा जटिल समस्या परिरहेको छ । बाटोमा उड्ने धुवाँ, धुलोका कारण रूघाखोकीको समस्या बढ्न थालेको छ । यस्तो खालको समस्या सडक विस्तार सम्पन्न नहुँदा सम्म भोग्नुपर्ने देखिन्छ ।
बाटोको धुलोका कारण राजमार्गका कयौं व्यवसायी विस्थापित भएका छन् । धुलोकै कारण अन्य धेरै व्यवसायीले पसल लगायत अन्य व्यवसाय छोड्ने मनसाय बनाएका छन् । कोभिड महामारीले धरासायी बनाएको व्यापार व्यवसाय सडक विस्तारले चौपट बनाएको छ । यस तर्फ अब गम्भीर भएर सोच्नु जरुरी रहेको छ ।
दैनिक रुपमा सर्वसाधारणलाई ओहोरदोहोर गर्न निकै समस्या भएको छ । बाटो हिलो हुँदा सवारी साधन चिप्लिएर दैनिक रुपमा साना तथा ठुला दुर्घटना भैरहेका छन् । धुलोका कारण श्वासप्रश्वासमा समस्या आएको छ । आँखा र घाँटीमा गम्भीर खालको संक्रमण देखिने गरेको छ । मुख्य गरेर दैनिक रुपमा पैदल हिड्ने यात्रीलाई सास्ति भएको छ ।
एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ४२ महिना भित्र काम सम्पन्न गर्ने गरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडक विस्तार सुस्त गतिमा हुँदा सरोकारवाला निकायले खबरदारी गर्नु आवश्यक छ । जनताको स्वास्थ्य माथि हेलचेकाइँ गर्ने छुट कसैलाई छैन । अब अति भैसकेको छ । सडक विस्तार तिब्र गतिमा सम्पन्न गर्नु बाहेक अर्को विकल्प छैन । जनताको स्वास्थ्यमा खेलवाड गर्नु अपराध हो । सडक विस्तार छिटो सम्पन्न गर ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij