लुम्बिनी पाना,देवदह । रुपन्देहीको देवदहमा चर्चित साहित्यकारहरुको उपस्थितिमा विशेष रचना वाचन हुने भएको छ । युगीन साहित्य समाजको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा मंसिर १५ गते शनिबार विशेष रचना वाचन हुन लागेको हो।
बिहिवार देवदह -५ को पाठक फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी गराइएको हो। कार्यक्रममा चर्चित गजलकार प्रदीप रोदन, कवि गजलकार छवि ज्ञवाली, कवि नारायण प्रसाद भण्डारी, मुक्तककार डीआर न्यौपाने 'सूर्य', कवयित्री सन्ध्या भण्डारीको विशेष रचना वाचन हुने अध्यक्ष कृष्ण प्रसाद सापकोटा 'सुशील' ले जानकारी दिनुभयो।
देवदहमा भाषा, कला तथा साहित्यको विकासका लागि विशेष अवसर सृजना गर्दै साहित्यको विकास गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसर पारेर संस्थाका वरिष्ठ सल्लाहकार समेत रहेका रुपन्देहीका अग्रज साहित्यकार तुल्सी घिमिरे 'पुष्प' लाई 'युगिन साहित्य साधना सम्मान-२०८० प्रदान गरिने र आजीवन सदस्यताबाट उठेको रकमबाट करिब १ लाख ५० हजार बराबरको अक्षय कोषको घोषणा गरिने आयोजकले जानकारी गराएको छ । साथै सोही कोषबाट 'युगीन साहित्य साधना पुरस्कार' समेत घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष गणेश न्यौपाने, सचीव बिष्णु विवश पोखरेल लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij