लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहमा सञ्चालन भईरहेको नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको घुइँचो लागेको छ । माघ १० गते देखि शुरु भएको महोत्सवको १० औं दिनमा करिव ५० हजार दर्शकले अवलोकन गरेको संयोजक कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।
महोत्सवको १० औं दिनमा दर्शकको घुइँचो लागेकोले आयोजकलाई व्यवस्थापन गर्न धौ धौ भएको संयोजक गुरुङ्गले जानकारी दिनु भयो । सार्वजनिक विदा भएकोले पनि महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्या उल्लेख्य रहेको उहाँले जानकारी दिनु भयो ।
देवदह व्यापार संघको आयोजनामा माघ १० देखि शुरु भएको महोत्सवमा लुम्बिनीको प्राचिन मायादेवी ग्राम सहितको मोडल, पाकडी वृक्ष आकृति, फोटो प्रदर्शनी, विज्ञान प्रर्दशनी, ऐतिहासिक माथागढी, गुरुङ र मगर समुदायको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेको महासचिव हरिलाल भण्डारीले जानकारी दिनु भयो ।
कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहमा रहेका ऐतिहासिक स्थलहरू भवानीपुर, रोहिणी नदी, देवदह दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संयोजक गुरुङ्गले जानकारी दिनु भयो । महोत्सवको ६ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिव दश करोड बराबरको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिइएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij