गणतन्त्र खै के लिएर आइस ?
भोको पेटका लागि भोजन भएर आउँछु भन्थिस
झुपडीका लागि महल बनेर आउँछु भन्थिस
अन्यायको विरुद्ध आवाज बुलन्द गर्न
षड्यन्त्रको पर्दाफास गर्दै
अन्धकारमा उज्यालो छर्न
ज्योती भएर आउँछु भन्थिस,
गणतन्त्र खै के लिएर आइस ?
दविएका स्वरहरुको प्रतिनिधित्व गर्दै
गाउँ वस्तीहरुमा विकासको लहर ल्याउन,
परिवर्तनको मुल फुटाउदै आउँछु भन्थिस
किसानका लागि सन्जिवनी बनी
विचौलियाको भण्डाफोर गर्दै
समृद्धि बनेर आउँछु भन्थिस
गणतन्त्र खै के लिएर आइस?
भ्रष्टहरुको लागि जेल बनेर,
विकृति विसङगती विरुद्ध आवाज बुलन्द गर्न
नीति र दर्शनको कुरा गर्दै
समाजवाद लिएर आउँछु भन्थिस
गणतन्त्र खै के लिएर आइस ?
भोकले कोहि मर्नु पर्दैन,
उपचारका लागि तड्पिनु पर्दैन भन्ने
तेरो व्यवस्थामा
अभावमा हुनेहरूले बाँच्न नपाउने
खै के लिएर आइस ?
गणतन्त्र, तेरो व्यवस्थामा पनि
उही पुरानै परिवर्तनको चर्को भाषण गर्ने मान्छे
सत्तामा पुगे
सत्तामा पुगे पछि परिवर्तन त भयो,
तर सत्तामा पुग्नेको जिवनशैली मात्र
के यहि हो तैले ल्याएको परिवर्तन ?
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij