लुम्बिनी पाना, देवदह । नेपाल राष्ट्रिय शिक्षक संगठन, देवदह नगर समितिको प्रथम बैठक हालै सम्पन्न भएको छ । शनिबार देवदह स्थित पाठक फुडल्याण्डमा सम्पन्न भएको बैठक विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै सम्पन्न भएको हो।
बैठकले संगठनको कार्यशैलीलाई समयसापेक्ष बनाउने उद्देश्यसहित केही नवीन निर्णयहरू गरेको छ। पुरानो ढर्राका शोकसभा कार्यक्रमहरूमा आसन ग्रहण र भाषणको प्रचलन अन्त्य गर्दै अबदेखि स्वभाविक सहभागिता रहने खालका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यस्तै, हालै सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन, रुपन्देहीको १४औं जिल्ला अधिवेशनबाट निर्वाचित हुनु भएका केन्द्रिय प्रतिनिधि ऋषिश्वर अर्याल, प्रदेश प्रतिनिधि राधाकृष्ण खरेल, जिल्ला कोषाध्यक्ष खेमानन्द ज्ञवाली, जिल्ला सदस्य करुणाकर अर्याल र यमलाल अर्याल (राजु) लाई संगठनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
बैठकमा सल्लाहकार सदस्यका रूपमा हुमप्रसाद पाठकलाई थप गरिएको छ। यस्तै, सचिवालय सदस्यमा पदाधिकारीहरूसँगै होमनाथ शर्मा, चिरञ्जीवी रेग्मी र रीता पाण्डेलाई समावेश गर्ने निर्णय गरिएको छ।
नगर समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन विधानअनुसार नगर सदस्यका रूपमा ध्रुवराज न्यौपाने, मनबहादुर क्षेत्री, तिलशोभा गुरुङ, खोमबहादुर सारु र कुलजित चौधरीलाई नियुक्त गरिएको छ।
बैठकले तोकिएको समयमा कार्यक्रमको सुरुवात र समापन अनिवार्य रूपमा गर्ने निर्णय समेत गरेको छ, जसले संगठनको अनुशासन र समयपालन संस्कारलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।
बैठक संगठनका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षता, जिल्ला कोषाध्यक्ष खेमानन्द ज्ञवालीको प्रमुख आतिथ्यता र सचिव गणेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij