सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

शिक्षा के का लागि ?

शिक्षा के का लागि ?

राम बहादुर गुरुङ

images
  • 340
    SHARES

  • images
    images
    images
    शिक्षा के का लागि ?
    images
    images
    images

    लुम्बिनी पाना, राम बहादुर गुरुङ ।

    शिक्षा भनेको ज्ञान तथा सिप सिक्ने वा सिकाउने पद्धति हो । मानिस भित्र भएको अज्ञनता रुपी अन्धकारलाई नष्ट गरी उज्यालो तर्फ डोर्याउने मार्ग भनेको शिक्षा हो । यो मानव जीवनमा निरन्तर चलिरहने अविछिन्न प्रक्रिया हो । नेल्सन मण्डेलाले भनेका छन्,“शिक्षा सबै भन्दा शक्तिशाली हतियार हो, जसको प्रयोग गरेर तिमी संसार बदल्न सक्छौ ।” शिक्षा भनेको आँखा भएकाहरुका लागि मात्र होइन आँखै नहुनेहरुका लागि पनि संसार देखाउने माध्यम हो । तर आधुनिक समाजमा के शिक्षालाई जीवन र संसार बदल्नका लागि मात्र प्रयोग गरिएको छ त ? प्रश्न यही हो र यो जटिल छ ।

    images
    images
    images

    शिक्षाको स्रोत के हो ? हामीलाई लाग्छ पाठ्य पुस्तक नै शिक्षाको मूल स्रोत हो । तर पाठ्यपुस्तक के हो ? पाठ्यपुस्तक भनेको नै मानिसको जीवनमा वा हाम्रो समाजमा भए गरेका विविध पक्षहरुको लिखित संग्रह मात्र हो । त्यसकारण ज्ञानको पहिलो स्रोत त हामी र हाम्रो समाज नै रहेछ । जुन ज्ञान र सिप हामीले विभिन्न स्रोतहरुबाट प्राप्त गरिरहेका छौं त्यो ज्ञानको केही अंश भएपनि समाजको लागि खर्चेका छौं त ? मानिसहरु जति शिक्षित र सभ्य बन्दै छन्, के समाज पनि त्यही मार्ग तिर गइरहेको छ त ? त्यसैले शिक्षा केका लागि हो भन्ने जिज्ञासा हामी सबैको मनमा हुन जरुरी छ । 

    कसैले हामीलाई तिमी किन शिक्षा ग्रहण गरिरहेका छौ भनेर सोधिदियो भने हामी सहजै भन्छौं कि मैले शिक्षा नोकरी पाउन, जीवनमा सफलता प्राप्त गर्न, सिप र कला सिक्न, बौद्धिक क्षमता अभिबृद्धि गर्न, दक्षता हासिल गर्न आदि आदि । तर औपचारिक वा अनौपचारिक शिक्षा हासिल गरेकाहरु सबैले माथि भनेका जस्ता कुरा गरेका छन् त ? यो समाज र राष्ट्र बिगार्नेहरु बढी शिक्षित होलान् कि अशिक्षित ? हामीले कल्पना गरेको सुन्दर सभ्य समाज र राष्ट्र बन्न किन सकिरहेको छैन ? कतै अशिक्षित र अज्ञानीहरु भन्दा धेरै शिक्षित र ज्ञानी भनेकाहरुले नै धेरै यो समाजलाई कुरुप बनाएका त छैनन् भन्ने प्रश्न जटिल रुपमा देखा परेको छ । धेरै शिक्षा हासिल गरेर उच्च अहोदामा पुग्ने र भ्रष्टचार गर्ने, गरीब र सोझा साझाहरु माथि अन्याय अत्याचार थोपार्ने र कानुनलाई आफ्नो हातमा लिने वा कानुनलाई आफु सुहाउँदो बनाउनेहरुले म शिक्षित हुँ भन्न मिल्छ कि मिल्दैन ?

    म्यानमारकी नेतृ आङसाङ सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदार गरेको थियो । विश्वका मानिसहरुको मानव अधिकारको लागि आवाज उठाउने सुकीले आफ्नै देशका रोहिंग्याहरुको हत्याको बिरुद्धमा मौन रहेकै कारण उनको त्यो अवार्ड खोसिएको थियो । सोही अनुसार तिमी योग्य र सक्षम छौ भनेर विद्यालय वा विश्व विद्यालयले दिएको प्रमाण पत्र अनुसार काम नगरीकन गलत कार्य र भ्रष्टाचार गर्नेहरुको चारित्रिक एवं शैक्षिक योग्यताको प्रमाण पत्र खोस्न मिल्छ की मिल्दैन ? यसको बारेमा बहस सुरु हुन जरुरी छ । 


    असल खराब छुट्याउन सक्ने, उचित समयमा सही निर्णय लिन सक्ने, मानवता र नैतिकतामा अडिग रहने, आफु भित्र भएको प्रतिभाको पहिचान गरी त्यसको विकास गर्दै एउटा आदर्श व्यक्ति बन्ने ब्यक्ति नै वास्तविक रुपमा शिक्षित व्यक्तिको रुपमा गणना हुनु पर्ने हो । तर माथिका गुण नभएकाहरुलाई शिक्षित भन्न मिल्छ र वा पर्छ र ? 

    आज संसार जुन गतिले बिकासको चरमचुलीमा पुगेको छ, त्यो मानिसको ज्ञानको कारणले भएको छ । विज्ञानको चमत्कारी बिकासले आज मानिसले यो सफलता हासिल गरेको छ । ढुंगेयुगबाट शुरु भएको मानव जीवन आज बिलासी जीवन पद्धतिमा रुपान्तरित भएको छ । यो मानिसले प्राप्त गरेको ज्ञान र सिपकै कारणले सम्भव भएको हो । तर पनि यो विश्व सुरक्षित छैन । मानिसहरुकै अहमता र घमण्डताले गर्दा ठूला ठूला युद्ध र विश्वयुद्धहरु भए र भइरहेका छन् । यो संसार प्रदुषणको कारणले बस्न योग्य छैन । मानिसहरु धर्मको नाममा अधर्म गरिरहेका छन् र औषधीको रुपमा बिष उत्पादन गरिरहेका छन्, मानवहीतका लागि भनेर खोलिएका संस्था वा व्यक्तिहरु मानव बेचबिखनमा लागेका छन् र पनि त्यस्ता व्यक्तिहरु र संस्थाहरु हाम्रो समाज र राष्ट्रमा अनगिन्ती बढिरहेका छन् । त्यसकारण हाम्रो शिक्षा केका लागि ? यसको सुक्ष्म अध्ययन गर्न सकेमा हामीले सही मार्ग पहिल्याउन गाह्रो छैन । 

    मानिसहरु किताबमा मात्र ज्ञान खोज्छन् र गणितमा सिकेको शुत्रमा जीवनलाई ढाल्न खोज्छन् । तर जीवन त्यस्तो कदापि हुँदैन । जीवनमा आइपर्ने हरेक चुनौतीहरुसँग सामना गर्न सक्ने शिक्षा नै सही शिक्षा हो । मानिसको मनमा सकारात्मक र नकारात्मक सबै प्रकारका सोंचहरु छिनछिनमा आइरहन्छन् । तर जब सोंच कर्ममा परिणत हुन्छ तब त्यसको नतिजा अरुले देख्ने हो । मनले भनेका सबै कुराहरु कर्ममा उतार्न हुँदैन । मन माथिको नियन्त्रण नै सबै भन्दा ठूलो शिक्षा हो । मनले निर्देश गरेका कर्महरुको नतिजाको बारेमा अध्ययन गरेर अगाडि बढ्दा नै मानिसले असल र खराब पहिचान गर्न सक्छन् । असल र खराब बिचको भिन्नता छुट्याएर आफुलाई असल र सत्यको मार्गमा अग्रसर गराउनु नै शिक्षा हो । दार्शनिक, धर्मगुरु, गुरु, सन्त महन्त र प्राज्ञिक व्यक्तिहरुको जीवनलाई नियाल्दा यी चरणहरु अवस्य पार गरेर मात्र त्यो स्थानमा पुगेका हुन्छन् । उनीहरुले अपनाएका जीवन पद्धति र मार्गबाट हामीले ग्रहण गर्नु पर्ने मूल सन्देश नै यही हो । काल्पनिक र मिथ्य स्वर्गको पछि दगुर्नु भन्दा वास्तविक जीवनलाई सार्थक बनाउन सत्कर्ममा आफुलाई तल्लिन राख्नु नै शिक्षा हो । यसैका लागि शिक्षाको प्रयोग हुनु पर्दछ । 

    अहिले शिक्षा कस्तो हुनुपर्छ भनेर धेरै बहस र छलफल चल्ने गरेको छ । शिक्षाको बिषयमा टाइ लगाउने कि नलगाउने, अँग्रेजी बोल्ने कि नेपाली बोल्ने, निजी विद्यालय कि सरकारी, मागी खाने शिक्षा कि गरिखाने शिक्षा, स्वदेशी शिक्षा कि बिदेशी शिक्षा, सैद्धान्तिक शिक्षा कि व्यवहारिक शिक्षा आदि आदि । यी सबै व्यर्थका बिषयहरु हुन् । जसले जे लगाए पनि, जुन भाषामा पढे पनि, जुन विद्यालयमा पढे पनि, जहाँ गएर पढे पनि, जुन बिषय लिएर अध्ययन गरे पनि, दिमाग खिएर खाए पनि, शारिरीक श्रम गरेर खाए पनि आखिर शिक्षा शिक्षा नै हो । शिक्षा के हो भन्नु भन्दा पनि शिक्षा के होइन भनेर बुझ्ने हो भने माथिको बिषयमा अनवश्यक बहस र छलफल गरिरहनु नै पर्दैन । तर हामी शिक्षाको मूल मन्त्र भित्र नछिरेर, माथिका बिषयहरुमा अल्झिरहेका छौं । त्यसैले समाजले सही बाटो समात्न सकेको छैन । विश्व कप चलिरहँदा धेरै देशका खेलाडीहरुले रंगशालामा खेल खेले । कसैले खेल जिते कसैले हारे । खेल तित्नु र हार्नु त नौलो कुरा भएन । खेलमा त्यस्तो भइ नै हाल्छ । तर जापानीजहरुले त्यहाँ अनौठो काम गरे । खेल सम्पन्न भए पछि उनीहरुले त्यहाँको रंगशाला सफा गरे । त्यसो गर्नु फुटबल खेलको नियम थिएन । त्यो त उनीहरुले आफ्नो देशमा पाएको शिक्षा थियो ।

    त्यसैले शिक्षा त्यो हो जो जुन समयमा जे गर्न उचित हुन्छ, त्यो समयमा त्यही गर्नु पर्छ । जापानीज खेलाडी र समर्थकले विश्व कप त जितेनन् तर विश्वको मनलाई जितेरै छाडे । त्यस कारण शिक्षा फोहोर गरेर छाड्नु होइन , फोहोर सफा गर्नु हो । उनीहरुले निजीमा पढे कि सरकारीमा, टाइ लगाएर पढे कि नलगाएर पढे, जापानीजमा पढे कि अँग्रेजीमा, अभिभावकको खर्चमा पढे कि सरकारी खर्चमा भन्ने कुरा गौण रह्यो । हाम्रो ध्यान यता पर्दैन । केवल अन्यत्र पर्छ जसको कारण हामी एकले अर्कालाई दोष थुपारेर आफु चोखो बन्न मात्र खोज्छौं ।


    सही शिक्षा भनेको त्यसै पाइने कुरा होइन । पैसा खर्च गरेर र दिनहुँ विद्यालयमा गएर वा सँधै गुरुकै काखमा बसेर मात्र पनि प्राप्त हुँदैन । त्यसको लागि त घोर तपस्या गर्न जरुरी छ । एरिस्टोटलले भनेका छन्,‘शिक्षाको जरा तितो हुन्छ, तर फल सबै भन्दा मिठो हुन्छ ।’ मिठो फल प्राप्त गर्नको लागि सबैखाले तितो सहनु पर्छ । हामीले शिक्षालाई सर्वसुलभ बनाउँदै लगेको कारण यसको महत्व घट्न गएको पनि महसुस हुन्छ । चिट चोरेर प्राप्त गरेको सर्टिफिकेट भन्दा परिश्रम गरेर पढेर प्राप्त भएको सर्टिफिकेटको धेरै महत्व हुन्छ । त्यसैले शिक्षा सर्व सुलभ मात्र बनाएर हुँदो रहेनछ । यसलाई उत्कृष्ट पनि बनाउन जरुरी छ । 

    विलियम बेनेटले ‘असल शिक्षा भनेको आत्मा सुन्दर बनाउने वास्तुकला हो’ भनेका छन् । त्यसैले आत्मा सुन्दर बनाउने शिक्षा प्राप्त गरौं र जीवन र जगतलाई सुन्दर बनाऔं । हामीले प्राप्त गरेको शिक्षा पनि त्यही सत्कार्यको लागि हो भन्ने बुझौं ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij