सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिने देवदह महोत्सवका उत्कृष्ट–६ स्टलहरू

आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिने देवदह महोत्सवका उत्कृष्ट–६ स्टलहरू

images
  • 401
    SHARES

  • images
    images
    images
    आत्मनिर्भर अर्थतन्त्रको सन्देश दिने देवदह महोत्सवका उत्कृष्ट–६ स्टलहरू
    images
    images
    images

    निर्मल एसपी थापा, लुम्बिनी पाना।

    देशको अर्थतन्त्र आयातमुखी बन्दै गएको र रोजगारीका लागि युवाशक्ति विदेशिन बाध्य भइरहेको वर्तमान अवस्थामा आत्मनिर्भर अर्थतन्त्र आजको मुख्य बहस बनेको छ। हाल देशका विभिन्न पालिकाहरूमा क्रमिक रूपमा मेला–महोत्सवहरू सञ्चालन भइरहेका छन्।

    images
    images
    images

    सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र मेला–महोत्सवमा हुने रमाइलोलाई एकैछिन बिर्सिएर महोत्सवमार्फत भएका सकारात्मक विषयलाई यस आलेखमार्फत चर्चा गर्न खोजिएको छ।

    रुपन्देहीको तिलोत्तमा, सिद्धार्थनगर र बुटवल उपमहानगरपालिका पछि उद्योग व्यापार संघ देवदहको आयोजनामा १० औँ देवदह महोत्सव जारी छ। महोत्सवमा राखिएका स्वदेशी तथा स्थानीय उद्यमीका स्टलहरूले स्थानीय स्रोत–साधनको प्रयोग, स्वरोजगार सिर्जना र स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गरिरहेका छन्। कृषि, घरेलु उद्योग, हस्तकला, लत्ताकपडा, खाद्य सामग्रीदेखि सिर्जनात्मक व्यवसायसम्म फैलिएका यी स्टलहरू व्यापारको माध्यम मात्र होइनन्, आत्मनिर्भर नेपालको सम्भावना देखाउने जीवन्त उदाहरणसमेत हुन्।

    यसै सन्दर्भमा देवदह महोत्सवमा सहभागी थुप्रै स्टलहरूमध्ये उत्पादनको गुणस्तर, उद्यमशील सोच, स्थानीयपन र उपभोक्ताको आकर्षणका आधारमा छानिएका उत्कृष्ट (६) स्टललाई यो फिचर स्टोरीमा समेटिएको छ।

    लोमुर पौष्टिक आहार 

    देवदहकी युवा उद्यमी समज्ञा अधिकारीले करिब तीन वर्षअघि स्वदेशमै रोजगारी सिर्जना र स्थानीय उत्पादनको उपभोग बढाउने उद्देश्यले करिब १५ लाख रुपैयाँको लगानीमा देवदहमा लोमुर पौष्टिक आहार उद्योग स्थापना गरेकी हुन्। मकै, चामल र गहुँको प्रयोग गरी केमिकल तथा मिसावट रहित पौष्टिक सातु उत्पादन गर्दै आएको यस उद्योगले हाल ९ प्रकारका उत्पादन बजारमा ल्याएको छ, जसलाई छ महिनादेखि जुनसुकै उमेर समूहले प्रयोग गर्न सक्ने बताइन्छ।

     

    IMG-20260118-WA0003.jpg

     

    देवदह ७ मा स्थापना गरिएको  उद्योगले प्रति केजी २५० देखि २५०० रुपैयाँ सम्मको पौष्टिक आहार उत्पादन गर्दै आएको छ। 
    सुरुमा सानो लगानीबाट सुरु भएको लोमुर पौष्टिक आहारका उत्पादन अहिले देवदह मात्र नभई रुपन्देहीका अन्य पालिका तथा नवलपरासीसम्म विस्तार भएका छन्। उद्योगमा हाल नियमित तथा पार्ट–टाइम गरी पाँच जनाले रोजगारी पाएको उद्योगकी संचालक समज्ञाले जानकारी दिइन। 

    समज्ञाले २ वर्षदेखी आफ्नो उद्योगले उत्पादन गरेका सामाग्री मेल महोत्सवमा बिक्री वितरण का लागी राख्दै आएकी छिन। 
    स्थानीय स्तरमा हुने यस्ता खालका मेला महोत्सवमा आफ्ना उत्पादन बारे एकैपटक धेरै जनालाई जानकारी गराउन सकिन्छ। 
    लोमुर पौष्टिक आहारले स्थानीय स्रोतको प्रयोग, स्वदेशी उत्पादन प्रवर्द्धन र आत्मनिर्भर उद्यमको अभियान थालनी गरेको छ। 


    शिवालय सामुदायिक वनको बेसार, अचार र अचानो
    रुपन्देही देवदह-६ मा अवस्थित शिवालय सामुदायिक वन जैविक विविधताको संरक्षण अभियान बोकेर स्थापना भएको सामुदायिक वन हो। यो सामुदायिक वनले उपभोक्तालाई काठ मात्र बिक्री गर्दैन। जलवायु परिवर्तनका असरबारे सकारात्मक पैरवी संगै उपभोक्तालाई उत्पादन संग पनि जोडेको छ। 

     

    IMG-20260118-WA0004.jpg

     

    यस सामुदायिक वनले संचालन गरेको बगैचामा रहेको अमला बाट अर्गानिक अचार समेत उत्पादन गर्दै आएको छ। त्यस्तै वनले बेसार उत्पादन तथा बिक्री समेत गर्दै आएको छ। सामुदायिक वनको जग्गामा उत्पादित बेसार बुद्द मावली कुष्ठ रोगी सहकारी संस्थाको सहजीकरणमा उत्पादन तथा बिक्री गरिदै आएको संस्थाका अध्यक्ष रामचन्द्र पाध्यले जानकारी दिए। 

    सामुदायिक वनले विगत २ वर्षदेखी मेला महोत्सवमा बिभिन्न साइज र मूल्य को अचानो प्रदर्शन तथा बिक्री वितरण गर्दै आएको छ। महोत्सवमा १५० रुपैयाँदेखि १५०० रुपैयाँसम्मका विभिन्न आकारका अचानो बिक्रीका लागी राखिएको छ। समूहका अध्यक्ष पाध्यले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवमा सहभागिता जनाइएको जानकारी दिए।

    यस्ता खालका मेला महोत्सव स्थानीय उत्पादन प्रबर्दनका लागि सहयोगी हुने सामुदायिक वनका अध्यक्ष पाध्यको तर्क छ। 


    गृहलक्ष्मी खाद्यान्न उद्योग 
    देवदहकी महिला उद्यमी मिना श्रेष्ठले देवदह -५ मा गत असोजदेखि  गृहलक्ष्मी अचार उद्योग संचालनमा ल्याएकी हुन् ।हाल उनको उद्योगले विभिन्न ११ प्रकारका अचार उत्पादन गर्दै आएको छ।

    करिब ३ लाख लगानीमा सुरुवात गरेको घरेलु उद्योगमानियमित र आंशिक गरि १० जनाले रोजगार पाएका छन् । श्रेष्ठले उद्योग स्थापना गरी उत्पादन गरेका अचार बिक्री तथा प्रबर्दन गर्ने राम्रो थलो बनेको देवदह महोत्सव।

     

    IMG-20260118-WA0008.jpg
     
    उद्योगमा आँप , खुर्सानी, लसुन, तामा, गुन्द्रुक लगायतबाट बनाइएका अचारहरु १०० देखि २०० रुपैयाँ सम्म बिक्री भैरहेको संचालक  श्रेष्ठले  जानकारी दिइन् ।

    बुटवल स्थित बुटवल मण्डपमा समेत गृहलक्ष्मी अचार उद्योगको उत्पादन बिक्रितथा प्रदर्शनमा राखिएको थियो। हाल देवदह मेलामा गृह लक्ष्मी सङ्गै अन्य विभिन्न समूह  संस्थाले उत्पादन गरिएका अचार उद्योग बिक्रीका लागि राखिएको छ। 


    थाकल्द्वारा निर्मित सामाग्री 
    थाकलद्वारा उत्पादित सामाग्रीको आकर्षण बयान गरी साध्य छैन,  हाल देवदह महोत्सवमा थाकलबाट बनाइएको टोपि, झोला र फुलदानी लगायतका सामाग्री प्रदर्शन तथा बिक्रीका लागी राखिएको छ। 

     

    IMG-20260118-WA0002.jpg

     

    कानुन बचत तथा ऋण सहकारीको सहयोग र डिजिएम नेपालले दिएको तालीमबाट १४ जना देवदह १० चरङ्गेका महिलाहरु सहभागी भएर थाकलबाट टोपि, झोला लगायत सामाग्री बनाउने तालिम लिएको समूहका अध्यक्ष निमकला सिंजालीले जानकारी दिइन् ।

    ४५० देखि ६०० सम्म मूल्यमा उत्पादन बिक्री गरिरहेको र सामाग्री बनाउन मिहेनत बढी लाग्ने समूहकी सदस्य कुमारी थापाले बताइन्।

    यस्ता खालका स्वदेशी र आकर्षण देखिने सामाग्रीलाई संघ संस्थाले गर्ने कार्यक्रमहरुमा मायाको चिनोको रुपमा प्रयोग गर्नुपर्ने थापाको सुझाव छ।यसो गर्न सकियो भने स्थानीय उत्पादनको प्रबर्द्धन र प्रोत्साहन हुने उनको बुझाइ छ।

    बुटवल मेला, भैरहवा र देवदह गरि ४ वटा प्रदर्शनीमा समूहको उत्पादन बिक्रीवितरण र प्रदर्शनमा राखिएको समूहकि सदस्य अन्जु थापा रानाले जानकारी दिइन।

    २०८१ सालमा भएको बुटवल मण्डपमा आयोजित प्रदर्शनी मेलामा उत्कृष्ट भएर पुरस्कृत समेत भएको थियो।

    नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिको आयोजना र डिजिएम नेपालको सहयोगमा देवदह -३ मा  १ महिना तालिम संचालन गरि उत्पादन गरिएका बासजन्य हस्तकलाका सामाग्री समेत सङ्गै बिक्रि र प्रदर्शनमा राखिएको छ।

    कोलुवा कृषि सहकारीद्वारा उत्पादित अर्गानिक आटो र पिठो 

    रुपन्देहीको देवदह-५ मा कार्यालय रहेको कोलुवा कृषि सहकारी संस्थाले उत्पादन गरेको आटो र पिठो

    IMG_20260118_131507.jpg

    तथा तरकारीका बीउ बिरुवा हाल देवदह मेलामा बिक्री सङ्गै प्रदर्शनमा राखिएको छ।

    २०७२ सालमा स्थापना भएको सहकारी संस्थाले विगत ३ वर्षदेखी  शेयर सदस्यलाई उत्पादन सङ्गै आत्मनिर्भर बनाउने अभियान स्वरुप खाद्यन्न उत्पादन सुरुवात गरेको हो।

    सम्भवत रुपन्देहीमै पहिलो पटक बेमौसमी मकै उत्पादन गरि मकै पकेट क्षेत्र समेत घोषणा गरिएको छ।नगरपालिकाले दिएको ५० प्रतिशत अनुदानमा कृषि औजार खरिद गरि नियमित खाद्यान्न उत्पादन गर्दै आएको सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार चक्रपाणी न्यौपानेले जानकारी दिए।

    सहकारीले सदस्यहरुको लागी लहरेबाली, बेमौसमी तरकारीका विरुवा समेत उत्पादन तथा वितरण गर्दै आएको संस्थापक अध्यक्ष न्यौपानेले बताए ।


    गुल्मीको खुदो
    गुल्मीको खुदो र मेला महोत्सव पर्यावाची जस्तै भएको छ। स्टलमै वर गोरु घुमाएर उत्पादन गरिने खुदोको मेला अवलोकनका लागि आउने दर्शकको विशेष रोजाइमा पर्ने गर्छ। विगत १७ वर्षदेखि  गुल्मेली पहाडी खुदो देशभरको विभिन्न मेला महोत्सवको स्टलमा राखि सकिएको संचालक शिव गौतमले जानकारी दिए।

    हिपत फुड प्रोडक्सन मार्फत खुदो सङ्गै गुद, छक्का पन्ना, मकैको पोला, आटो गुन्द्रुक, फापरको पिठो समेत बिक्री गर्दै आएको कम्पनीका मार्केटिङ म्यानेजर दिपक उपाध्यक्षले जानकारी दिए।

    विशेष गरि तातो खुदोले दर्शकको ध्यान तान्ने गरेको र प्रती लिटर २०० र प्रती गिलास ५० रुपैयाँमा खुदो बिक्रि गरिएको कम्पनीका देवदह म्यानेजर बाबुराम अर्यालले बताए।

     

    IMG-20260118-WA0007.jpg

     

    त्यसो त मेला महोत्सवमा राखिने मगर, गुरुङ, थारु संस्कृति झल्किने कल्चरल हाउसले पनि दर्शकको ध्यान खिच्ने गरेको छ।
    यसले संस्कृतिको विविधतामा एकता समेत झल्काउने गर्दछ।

    मेलामा कृषि औजार पसल, लत्ताकपडाका सामाग्री, दैनिक उपभोग्य समाग्री, जुत्ता चप्पल, खेलौना जस्ता सामाग्रीहरु पनि विशेष छुटका साथ बिक्रीवितरण भैरहेका छन् । यसले अर्थतन्त्र चलायमानका लागि बल पुग्ने गरेको छ। साथै विभिन्न विद्यालयको बिज्ञान प्रदर्शनीहरु, लोकनृत्य प्रतियोगिता, डान्सिङ आइडल, सिङ्गिङ आइडल जस्ता कार्यक्रमहरुले प्रतिभा मेला महोत्सव प्रतिभा प्रस्फुटन गर्ने गतिलो माध्यम पनि बनेको छ।

    हरेक ठूलो मेला–महोत्सवसँगै केही सामाजिक विकृतिहरू पनि देखिन्छन्। महोत्सवमा हुने झैझगडा, मदिराजन्य पदार्थको प्रयोग
    टिकट दरमा हुने हेरफेरले आलोचना समेत निम्त्याउने गर्दछ । विशेष गरी युवा र सहभागीले रमाइलोमा असावधानी देखाउँदा  झगडा र तनावको अवस्था सिर्जना हुन सक्छ। यसले मेलाको वातावरणलाई पनि असुरक्षित बनाउँछ ।आयोजकले सुरक्षा निकायसङ्ग समन्वय गरि यस्ता खालका दुरुपयोगलाई नियन्त्रण गर्न आगामी दिनहरुमा  सावधानी अपनाउनु पर्छ।

    "मेला स्थानीय समुदाय र उद्यमहरुको प्रबर्द्धन गर्ने थलो हो,  यसले स्थानीय उद्यम प्रबर्द्धन गर्न सहयोग गर्दछ", उद्योग व्यापार संघका अध्यक्ष गणेश कुमार खातीले भने।

    स्थानीय उत्पादन, हस्तकला, साना व्यवसाय र विद्यार्थीहरुको   प्रतिभा प्रदर्शन गर्ने अवसर मेलाले दिन्छ। कृषि उत्पादन, घरायसी उद्योग, खाद्य पदार्थ, हस्तकला र सिर्जनात्मक व्यवसायका स्टलहरूले केवल व्यापारको अवसर मात्र होइन, स्थानीय पहिचान र आत्मनिर्भरताको सन्देश पनि फैलाउने गरेको अध्यक्ष खातीको तर्क छ।

    यद्यपि मेला महोत्सवमा हुने गरेको विकृती, स्थानीय पुजी पलायनमा रोक र सम्भावित अपराधीक गतिविधि नियन्त्रणका लागी भने सबै पक्ष सजक हुनुपर्ने उनको धारणा छ ।

    त्यस्तै देवदहमा मेला आयोजना गर्ने अर्को संस्था देवदह ब्यापार संघका निवर्तमान कोषाध्यक्ष कोष बहादुर गुरुङ सकारात्मक चिन्तन र अनुशासनलेनै आफुरुले गर्दै आएको मेला महोत्सव सफल हुँदै आएको दावी गरे।

    अघिल्लो वर्षको मेलाबाट १ लाख रुपैयाँ  देवदह मण्डप विकास कोषका लागी रकम विनियोजन गरि देवदह मन्डपको दीर्घकालीन विकासको पहल कदमी सुरुवात गरेको निवर्तमान अध्यक्ष गुरुङले बताए।साथै स्थानीय सरकारलाई ५ प्रतिशत मनोरञ्जन कर भुक्तानी गर्न समेत संस्थाले सुरुवात गरेको उनले बताए।

    २०७१ सालमा तत्कालीन उद्योग व्यापार संघका अध्यक्ष गोविन्द बहादुर ठडराईको नेतृत्वले देवदहमा व्यापार मेला संचालनको सुरुवात गरेका हुन् ।हाल देवदह व्यापार संघ, उद्योग बाणिज्य संघ र उद्योग व्यापार संघले आलोपालो मेला संचालन गर्दै आएका छन्।

    समग्रमा, देवदह लगायत विभिन्न पालिकाहरुमा हुने महोत्सवले  एकै ठाउँमा व्यापार, संस्कृति, मनोरञ्जन र समुदायको जागरूकता समेटेर मेलाले सामाजिक र आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने देखिन्छ । मेला महोत्सवमा हुने विकृतिहरूलाई नियन्त्रण गर्ने उपाय समयमै अपनाउन सकियो भने महोत्सव केवल रमाइलो र मनोरञ्जनको माध्यम मात्र नभई आत्मनिर्भर, जिम्मेवार र सुसंस्कृत समाजको उदाहरण पनि बन्न सक्छ। मेला सफल बनाउन आयोजकले समुदाय सङ्ग समन्वय, गर्नु आवश्यक छ।स्थानीयले पनि अपनत्व लिएर भूमिका निर्वाह गर्न सके देवदह महोत्सवलाई साँच्चिकै सकारात्मक, सुरक्षित र अर्थपूर्ण बनाउन सकिन्छ।


    देवदह महोत्सव मनोरञ्जन सङ्गै स्थानीय उत्पादन, सीप र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने साझा मञ्च बनेको छ, भबिश्यमा पनि बनिरहनेछ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij