लुम्बिनी पाना, देवदह। देवदह–७ स्थित देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा फागुन ३० गते विद्यालयको सभा हलमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कक्षा ९ की विद्यार्थी दिया न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य मनोजकुमार गैरे, कार्यवाहक प्राचार्य मानबहादुर क्षेत्री, आन्तरिक विद्यालय व्यवस्थापक सुजाता लामिछाने, सह–प्राचार्य विष्णुप्रसाद अर्याल, कक्षा १० का कक्षा शिक्षक, प्रशासनिक कर्मचारी तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षण, सिकाइका अनुभव तथा शिक्षक र साथीहरूसँगका सम्झनाहरू भावुक हुँदै साटासाट गरेका थिए। उनीहरूले विद्यालयले दिएको शिक्षा, अनुशासन र मार्गदर्शनले आफ्नो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि लगायत वक्ताहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि शुभकामना व्यक्त गरेका थिए। कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान समेत गरेका थिए।
कार्यक्रम कक्षा ९ की छात्रा अनुश्रा पौडेल र छात्र सिद्धार्थ बस्यालले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रममा गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij