लुम्बिनी पाना, देवदह। पूर्वी क्षेत्र निजी विद्यालय एशोसियसन (ईप्सा) देवदह, रुपन्देहीको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ।बुधबार नयाँ निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो।
अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित विनोद थापा मगर नेतृत्वको नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो। पद हस्तान्तरणसँगै नयाँ नेतृत्वले संस्थाको आगामी कार्यकालका लागि जिम्मेवारी सम्हालेको छ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष विनोद थापा मगर, उपाध्यक्ष टिकाराम चापागाईं, सचिव कमल पौडेल, कोषाध्यक्ष प्रेमनारायण केवट सहसचिव राजेन्द्र पराजुली, कोषाध्यक्ष प्रेमनारायण केवट तथा सदस्यहरू हरी भट्टराई र डी.बी. मोक्तान रहेका छन्।
निर्वाचन मण्डलका संयोजक बोधराज गौडेल, सदस्यहरु एकनारायण काफ्ले र महेश पराजुलीले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
पद हस्तान्तरणपछि नवनिर्वाचित अध्यक्ष मगरले संस्थालाई अझ सशक्त, व्यवस्थित र परिणाममुखी बनाउँदै निजी विद्यालय क्षेत्रका साझा सवालहरूमा एकताबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यार्थी केन्द्रित कार्यक्रम, शिक्षकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षा तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
ईप्सा देवदहले विगतदेखि नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक क्षमता विकासका लागि विभिन्न शैक्षिक, खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।
पद हस्तान्तरण कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र पहिलो चरणको कार्यक्रम विनोद थापा मगर र दोस्रो चरणको कार्यक्रम कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।कार्यक्रममा कृष्ण प्रसाद गैरे, सिबि थापा, मनोज कुमार गैरे लगायतको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij