लुम्बिनी पाना, बुटवल । रुपन्देहीमा निजी विद्यालयका शिक्षकहरूलाई ‘निरन्तर मूल्याङ्कन प्रणाली’ सम्बन्धी तालिम दिइएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) रुपन्देही जिल्ला समितिको आयोजनामा बुटवलमा दुईदिने निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी तालिम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले यो प्रणाली उत्कृष्ट मूल्याङ्कन विधिका रूपमा रहेको बताए। राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ ले कक्षा १ देखि ३ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले सोहीबमोजिम प्राथमिक शिक्षा पाठ्यक्रम (कक्षा १–३) ले विद्यार्थीको शिक्षण–सिकाइसँगै निरन्तर मूल्याङ्कनका आधारमा कक्षा चढाउने व्यवस्था गरेको बताए।
“यसको कार्यान्वयन लामो समयदेखि भइरहेको छ,” उनले भने, “हाल कक्षा ४ र ५ मा पनि ५० प्रतिशत आन्तरिक र बाह्य मूल्याङ्कनका आधारमा मूल्याङ्कन प्रक्रिया अघि बढाइएको छ।” उनले निम्न माध्यमिक तथा माध्यमिक तहको पाठ्यक्रममा पनि आन्तरिक मूल्याङ्कनलाई प्राथमिकता दिइएको बताए।
कक्षा ६ देखि ८ सम्म ५० प्रतिशत आन्तरिक मूल्याङ्कन तथा कक्षा ९ र १० मा २५ प्रतिशत प्रयोगात्मक आन्तरिक मूल्याङ्कनको व्यवस्था गरिएको उनको भनाइ थियो।
यस हिसाबले कक्षाकोठामा शिक्षण गर्ने शिक्षकलाई विद्यार्थी मूल्याङ्कनप्रति पाठ्यक्रमले जवाफदेही बनाउने प्रयास गरेको उनले बताए। “आन्तरिक मूल्याङ्कन भनेको शिक्षकमा भर पर्ने मूल्याङ्कन हो। पाठ्यक्रमले गरेको व्यवस्था र विद्यालयहरूमा कार्यान्वयन भएको अवस्थाबीच केही खाडल देखिन्छ। यस्ता खाडललाई पुर्न यस्ता तालिम प्रभावकारी हुनेछन्,” उनले भने।
कार्यक्रममा एनप्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले पाठ्यक्रम, निरन्तर मूल्याङ्कन तथा क्यासबुक व्यवस्थापनबारे शिक्षकहरूबीच विस्तृत छलफल हुने बताए। नेपाल सरकारले विकास गरेको प्रणालीलाई व्यवहारिक रूपमा अपनाउन यो तालिम प्रभावकारी हुने उनको भनाइ थियो।
विश्वमा भइरहेको परिवर्तनलाई स्वीकार गर्दै शिक्षकहरू अझ चनाखो बन्नुपर्ने आवश्यकता औँल्याउँदै उनले यस्तो सिकाइ शिक्षकको करियरका लागि समेत उपलब्धिमूलक हुने बताए। विद्यार्थीहरूमा विषयगत ज्ञान, सीप, सकारात्मक अभिव्यक्ति, मूल्य–मान्यता, संस्कार, संस्कृति तथा कार्यदक्षताको विकास आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ तथा केन्द्रीय सचिव बालकृष्ण तिवारीले निजी विद्यालयहरूले जनशक्ति विकासमा ठूलो लगानी गर्दै आएको बताए।
तालिममा एनप्याब्सन आबद्ध २० विद्यालयका कक्षा १ देखि ५ सम्मका २५३ जना शिक्षक सहभागी भएको कोषाध्यक्ष कमल पौडेलले जानकारी दिए। तालिममा इन्स्पायर एजुकेशन, काठमाडौंका सीईओ इन्द्र प्रसाईंको टोलीले प्रशिक्षण दिएको एनप्याब्सनका जिल्ला सचिव अमित यादवले बताए।
यसैबीच कार्यक्रममा मोर्डन पब्लिक स्कुलबाट ४ जीपीए ल्याएका आर्यन चौरासियालाई नगद १० हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै, इप्सा रुपन्देहीका सचिवमा निर्वाचित कमल पौडेल तथा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखामा मनोनित अमित यादवलाई समेत सम्मान गरिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij