लुम्बिनी पाना, देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) देवदहको आयोजनामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको सिर्जनशीलता र अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियर तर्फ १६ र सिनियर तर्फ १३ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा जुनियरतर्फ ‘सुन्दर प्राकृतिक दृश्य’ तथा सिनियरतर्फ ‘स्वच्छ वातावरण’ शीर्षकमा चित्रकला प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डल संयोजक दशरथ कुमाल तथा सदस्य सागर कुमालले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकृत पर्शुराम ढकालले विद्यार्थीको रचनात्मक क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले कला र सिर्जनशीलताले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
त्यसैगरी पूर्व सल्लाहकार तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
प्रतियोगिताको जुनियरतर्फ देवदह बोर्डिङ स्कुलका साइमन थापा प्रथम, मदरल्याण्ड एकेडेमीकी जेनिशा थापा द्वितीय, ग्रीन प्लान्टका पवन पौडेल तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका इप्सु पोखरेल चौथो भए।
त्यसैगरी सिनियरतर्फ एसियन लाइटकी जेनिक्सा घर्ती मगर प्रथम, देवदह बुद्ध पब्लिककी जेसा राना द्वितीय, नमुना एभरग्रीनकी सनिसा प्राख्रिन तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालयका पुस्कल पाण्डे चौथो भए।
विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम संस्थाको अध्यक्ष विनोद थापा मगरको अध्यक्षता, उपाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम चापागाईंको स्वागत तथा सचीव कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij