लुम्बिनी पाना, देवदह । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ रूपन्देहीको देवदहमा "बृहत् वृक्षरोपण तथा संरक्षण कार्यक्रम" आयोजना हुने भएको छ। लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ पी नेपाल (वर्ष २०२६-२०२७) एरिया ३ को संयोजनमा आगामी साउन २ गते शनिबार यो कार्यक्रम हुन लागेको हो।
विश्वव्यापी सेवा क्षेत्र अन्तर्गत वातावरण विधालाई केन्द्रमा राखेर देवदह क्षेत्रमा क्रियाशील विभिन्न लायन्स र लियो क्लबहरूले संयुक्त रूपमा यस कार्यक्रमको ढाँचा तयार पारेका हुन्। आयोजकका अनुसार उक्त कार्यक्रम साउन २ गते शनिबार बिहान ठीक ८:०० बजे देवदहस्थित लायन्स क्लबको सचिवालयबाट सुरु हुनेछ।
यस बृहत् अभियानलाई सफल बनाउन लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, र लायन्स क्लब अफ देवदह युनाइटेडले मुख्य आयोजकको भूमिका निर्वाह गरेका छन्।
यसैगरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन लियो क्लब अफ देवदह, लियो क्लब अफ भिजनरी युथ र लियो क्लब अफ देवदह पाकरी राइसिङ्गले सह-आयोजकका रूपमा सहकार्य गरेका छन्।
बढ्दो सहरीकरण र वातावरणीय चुनौतीलाई मध्यनजर गर्दै लायन्स र लियो क्लबहरूले हरेक वर्ष यस्ता सामाजिक र वातावरणीय कार्यहरू गर्दै आएका छन्।
आगामी शनिबार हुने यस वृक्षरोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यार्थी एवं स्थानीय नागरिकहरूलाई उपस्थित भई वातावरण संरक्षणको महाअभियानमा साथ दिन लायन्स क्लबलेले अपिल गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij