लुम्बिनी पाना, देवदह । सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्ना विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा शेयरधनीहरूको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले देवदह मेडिकल कलेज भलुहीसँग विशेष स्वास्थ्य सहकार्य गरेको छ।
सहकार्यअनुसार सेभेन स्टारसँग आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा शेयरधनीहरूले देवदह मेडिकल कलेज तथा अस्पतालबाट प्राप्त हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा विशेष छुट सुविधा पाउने भएका छन्।
सम्झौताअनुसार ओपीडी टिकटमा ५० प्रतिशत, सामान्य बेड शुल्कमा २५ प्रतिशत, आईसीयू, एनआईसीयू तथा पीआईसीयू सेवामा १० प्रतिशत, शल्यक्रिया तथा सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब र रेडियोलोजी सेवा (सिटी स्क्यान तथा एमआरआईसहित) मा १५ प्रतिशत तथा अन्य सेवाहरूमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
उक्त सुविधा प्राप्त गर्न विद्यार्थीहरूले विद्यालयद्वारा जारी विद्यार्थी परिचयपत्र तथा शिक्षक–शिक्षिका र शेयरधनीहरूले आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने विद्यालयले जनाएको छ।
सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले शिक्षासँगै विद्यार्थी तथा समग्र सेभेन स्टार परिवारको स्वास्थ्य, खेलकुद र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ। विद्यालयले यस महत्वपूर्ण सहकार्यका लागि देवदह मेडिकल कलेज तथा अस्पताल, भलुहीका अध्यक्ष गोपाल बहादुर पोखरेललगायत व्यवस्थापन समिति तथा सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij