लुम्बिनी पाना, देवदह । पूर्वी क्षेत्र निजी विद्यालय एसोसियसन (इप्सा) को आयोजनामा सम्पन्न कविता लेखन तथा वाचन प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयकी छात्रा समीक्षा सुनामी प्रथम भएकी छन्।
प्रतियोगितामा नमुना एभरग्रीन स्कुलकी छात्रा नुराङ सारु द्वितीय, सगरमाथा आवासीय माध्यमिक विद्यालयकी छात्रा आराध्या पौडेल तृतीय तथा एशियन लाइट स्कुलकी छात्रा वर्षा बोहरा सान्त्वना भएकी छन्।
विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने, साहित्यप्रति रुचि बढाउने तथा वाचन र अभिव्यक्ति कलाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रथम भएकी समीक्षा सुनामीले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। द्वितीय भएकी नुराङ्ग सारुले नगद ३ हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय भएकी आराध्या पौडेलले नगद २ हजार ५ सय रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। सान्त्वना स्थान हासिल गरेकी वर्षा बोहरालाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि ध्रुव प्रसाद खरेलले साहित्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। पछिल्लो समय बढ्दै गएको वैदेशिक पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले युवाहरूलाई स्वदेशमै रोक्न साहित्य तथा सिर्जनशील क्षेत्रमार्फत सकारात्मक चेतना निर्माण गर्नुपर्नेमा जोड दिए।
प्रतियोगिताको निर्णायकमा कवि रमेश समर्थन र साहित्यकार कृष्ण पाण्डे रहेका थिए।
कार्यक्रममा इप्साका सल्लाहकार संयोजक राम बहादुर गुरुङले मन्तव्य राख्दै विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रम संस्थाका अध्यक्ष विनोद थापा मगरको अध्यक्षता, प्रेम नारायण केवटको संयोजन, उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत र सचीव कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij