सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, बुटवल । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले बुटवलमा अन्तरविद्यालय जिल्ला स्तरीय कविता रचना तथा वाचन एवं निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीको आयोजनामा शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगिताअन्तर्गत सिनियर कविता वाचनतर्फ स्कलर्स होम इङ्लिस बोर्डिङ स्कुलकी बार्बिका बन्जाडे प्रथम भएकी छन्। नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलकी नुरङ सारु द्वितीय, ग्लोरी बोर्डिङ स्कुलकी सुप्रिया घिमिरे तृतीय तथा सिद्धार्थ ग्यालेक्सी पब्लिक स्कुलकी स्मृति भट्टराई सान्त्वना भएकी छन्।
त्यस्तै, जुनियर कविता वाचनतर्फ देवदह इङ्लिस बोर्डिङ स्कुलकी निकोल चापागाईं प्रथम, नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलकी समृद्धि ज्ञवाली द्वितीय, ग्लोरी बोर्डिङ स्कुलकी कृषा ज्ञवाली तृतीय तथा मोर्डन पब्लिक स्कुलका दिप्सन घिमिरे सान्त्वना भएका छन्।
निबन्ध लेखनतर्फ नमुना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलकी सुस्मिता चालिसे प्रथम भएकी छन्। ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका जैनव पठान द्वितीय, बुटवल ग्लोरी इङ्लिस बोर्डिङ स्कुलकी निसु राना तृतीय तथा स्कलर्स होम इङ्लिस बोर्डिङ स्कुलकी सरिता थापामगर सान्त्वना भएकी छन्।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिका–९ का वडाध्यक्ष प्रदीप श्रेष्ठ, नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव विष्णुप्रसाद पौडेल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङ, केन्द्रीय सदस्य बिलप्रसाद गुरुङ, जिल्ला अध्यक्ष बाबुराम बन्जाडे र कोषाध्यक्ष कमल पौडेलले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष प्रदीप श्रेष्ठले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम वर्षभरि नै नियमित रूपमा धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताए।
प्रतियोगिताका निर्णायक कविराज पौडेल र कृष्ण पाण्डेय रहेका थिए। निर्णायक कविराज पौडेलले विद्यार्थीहरूबाट उत्कृष्ट कविता तथा निबन्ध प्रस्तुत भएको बताउँदै आगामी दिनमा अझ सुधार गर्नुपर्ने पक्षबारे जानकारी गराए। कवितामा लेखनसँगै वाचन पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले कविता मूल्याङ्कन गर्दा बिम्ब, प्रतीक, छन्द, लय तथा हाउभाउलाई आधार बनाइएको बताए। निबन्धतर्फ भने शीर्षकको सार्थकता, भाषा, साहित्यिकता तथा अलङ्कारिकतालगायतका पक्षलाई आधार बनाइएको उनले जानकारी दिए।
नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष बाबुराम बन्जाडेले संस्थामा आबद्ध विद्यालयहरूको सुधार, शिक्षकको क्षमता विकास तथा वार्षिक कार्ययोजनाअनुसार विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताए। संस्थागत पहलबाट शिक्षा क्षेत्रमा विभिन्न उपलब्धि हासिल भएको उनको दाबी थियो। प्रतियोगिताअन्तर्गत कविता रचनातर्फ ११ विद्यालय र निबन्ध लेखनतर्फ १६ विद्यालय सहभागी रहेको जिल्ला सचिव अमित यादवले जानकारी दिए।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij