कार्तिक १२ ,अछाम । अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्षले तालाबान्दी गरेकी हुन् ।
गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले एक विज्ञप्ती जारी गर्दै बुधबारदेखि अनिश्नितकालिन तालाबन्दी गरेकी हुन् । उपाध्यक्ष रावलले स्थानीय सरकार संचालन ऐन विपरित उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।
योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भएपनि अनुगमन प्रतिवेदनविना योजनाको भुक्तानी दिन लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कर्मचारी भर्ना तथा छनौटमा अनियमिता गरेको आरोप समेत विज्ञप्तिमा समावेश गरिएको छ ।
उपाध्यक्ष रावलले गाउँपालिकाभित्र भइरहेका गलत गतिविधीसंग आफू एक्लै लडिरहेको बताएकी छिन् । उनले भनिन्,‘निकै सहेर बसे तर अब अति भयो । नामको मात्र पद लिएर बस्न सकिन्न । गाउँपालिकाभित्र भएका बेथितिवि’रु’द्धमा एक्लै सघर्ष गर्छु ।’
गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटकपटक छलफल हुँदा समेत कार्यशैलीमा कुनै फरक नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रामारोशन गाउँपालिकामा अध्यक्ष झंकर साउद र उपाध्यक्ष रावल दुबै तत्कालिन नेकपा माओवादीबाट निर्वाचित जनप्रतिनीधि हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले समेत केही दिन पहिले शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij