काठमाडौं, माघ ३ । सभामुख पदलाई प्रतिष्ठाको विषय बनाएर पार्टीभित्र विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन्।
स्रोतका अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरुसमेत अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर आफूविरुद्ध गठबन्ध बनाउन थालेपछि प्रधानमन्त्री दबाबमा परेका खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

‘सरकार सहज हुने गरी संसद संचालन गर्ने प्रतिवद्धताका आधारमा सभामुख पूर्वमाओवादीलाई पनि दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नु भएको छ,’ एक नेताले भने।
बोलचालै नभएको पाँच दिनपछि बिहीबार ओली र दाहालले करिब साढे दुई घण्टा छलफल गरेका थिए।
‘बिहीबारको घटनाक्रम जसरी अघ बढेका छन्, त्यसलाई हेर्दा पूर्वमाओवादी समूहमै सभामुख पद रहने देखिएको छ,’ पूर्वएमाले समूहकै एक नेताले भने, ‘बरु अहिले चर्चामा रहेका पात्रहरु भन्दा फरक व्यक्तिको नाम सभामुखमा आउन सक्छ।’
माओवादी पक्षबाट दाहालले अग्नी सापकोटालाई अघि सार्न खोजेका छन्।
सापकोटाको प्रतिस्पर्धीको रुपमा पम्फा भुसालसँगै अब हरिबोल गजुरेलको नामसमेत भित्रिएको स्रोतको दाबी छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij