सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताले चाहेजस्तो उत्कृष्ट पार्टी बन्न सक्ला ?

राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताले चाहेजस्तो उत्कृष्ट पार्टी बन्न सक्ला ?

images
  • 161
    SHARES

  • images
    images
    images
    राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताले चाहेजस्तो उत्कृष्ट पार्टी बन्न सक्ला ?
    images
    images
    images

    विष्णु प्रसाद पौडेल, लुम्बिनी पाना । नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय सामान्य राजनीतिक घटनाक्रम थिएन। यो दशकौँदेखि स्थापित राजनीतिक दलहरूप्रति बढ्दो जनअसंतोष, सुशासनको आकांक्षा र वैकल्पिक राजनीतिको खोजको परिणाम थियो। विशेषतः युवा पुस्ता, शिक्षित मध्यमवर्ग र परिवर्तनको पक्षमा उभिएका नागरिकहरूले रास्वपालाई केवल अर्को राजनीतिक दलका रूपमा मात्र होइन, नयाँ राजनीतिक संस्कृतिको वाहकका रूपमा स्वीकार गरे।

    छोटो अवधिमै जनमतको उल्लेखनीय समर्थन प्राप्त गर्दै सरकारको नेतृत्वसम्म पुग्नु रास्वपाको ऐतिहासिक उपलब्धि हो। तर राजनीतिक इतिहासले बारम्बार पुष्टि गरेको एउटा सत्य के हो भने— चुनाव जित्नुभन्दा कठिन काम जनविश्वासलाई दीर्घकालीन रूपमा जोगाउनु हो। आन्दोलन, लहर र असंतोषको उभारले पार्टी जन्माउन सक्छ, तर संस्थागत क्षमता, वैचारिक स्पष्टता र परिणाममुखी कार्यशैलीले मात्र त्यसलाई टिकाउन सक्छ।

    images
    images
    images

    आज रास्वपा ठीक यही ऐतिहासिक मोडमा उभिएको छ। उसले अब सत्ता राजनीतिलाई प्राथमिकता दिने कि मूल्य राजनीतिलाई संस्थागत गर्ने भन्ने निर्णायक छनोट गर्नुपर्ने अवस्था आएको छ।

    रास्वपाको जन्म नै पुरानो राजनीतिक संस्कृतिको विकल्प बन्ने घोषणासँग जोडिएको थियो। त्यसैले उसका लागि पद, शक्ति र अवसरको व्यवस्थापनभन्दा पनि विधि, पारदर्शिता, मेरिटोक्रेसी, नैतिकता र जवाफदेहिताको अभ्यास नै वास्तविक पहिचान हो। यदि निर्णय प्रक्रियामा व्यक्तिगत निकटता, समूहगत दबाब, भागबन्डा वा शक्ति सन्तुलनले स्थान पायो भने रास्वपा पनि आफूले आलोचना गरेका पुरानै अभ्यासको निरन्तरता बन्न पुग्नेछ।

    सरकार सञ्चालनमा पनि यही सिद्धान्त लागू हुन्छ। मन्त्री, राजनीतिक नियुक्ति, सल्लाहकार, विज्ञ तथा अन्य जिम्मेवारीहरू क्षमता, अनुभव, इमानदारिता र कार्यसम्पादनका आधारमा चयन हुनपर्छ। जनताले वैकल्पिक राजनीतिबाट अपेक्षा गरेको सबैभन्दा ठूलो परिवर्तन यही हो। यदि योग्यताभन्दा पहुँच, योगदानभन्दा सम्बन्ध र परिणामभन्दा निष्ठाले अवसर निर्धारण गर्न थाल्यो भने वैकल्पिक राजनीतिको नैतिक आधार कमजोर बन्दै जान्छ।

    त्यसैगरी पार्टी संगठनको संस्थागत विकास पनि उत्तिकै महत्त्वपूर्ण छ। कुनै पनि राजनीतिक दलको दीर्घायु लोकप्रियताको लहरले होइन, स्पष्ट संगठनात्मक संरचना, आन्तरिक लोकतन्त्र, अनुशासन, नियमित मूल्याङ्कन र पारदर्शी नेतृत्व विकास प्रक्रियाले सुनिश्चित गर्छ। रास्वपाले अब आन्दोलनबाट संस्थातर्फको यात्रा पूरा गर्नैपर्छ।

    लोकतान्त्रिक प्रणालीमा सबैको आकांक्षा पूरा हुन सक्दैन। पद सीमित हुन्छन्, अपेक्षाहरू असीमित हुन्छन्। तर न्यायपूर्ण प्रक्रिया, स्पष्ट मापदण्ड र निष्पक्ष निर्णयले असंतोषलाई व्यवस्थापन गर्न सक्छ। योग्य व्यक्ति निरन्तर पाखा लाग्ने र कम सक्षम व्यक्ति केवल पहुँचका आधारमा अवसर पाउने अवस्था सिर्जना भयो भने त्यो कुनै पनि वैकल्पिक दलका लागि सबैभन्दा ठूलो जोखिम हुनेछ।

    रास्वपाले सरकार र संगठनबीचको सम्बन्धलाई पनि नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता छ। सरकार नीति निर्माण र कार्यान्वयनको केन्द्र हो भने संगठन जनतासँगको संवाद, सुझाव, निगरानी र राजनीतिक उत्तरदायित्वको माध्यम हो। संगठन सरकारको प्रतिस्पर्धी होइन, सुधार र सुदृढीकरणको साझेदार बन्नुपर्छ।

    अर्कोतर्फ, सरकारका उपलब्धि जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने संयन्त्र निर्माण गर्न पनि रास्वपा चुकेको देखिन्छ। लोकतन्त्रमा राम्रो काम गर्नु मात्र पर्याप्त हुँदैन; नागरिकले त्यसको अनुभूति गर्नुपर्छ। त्यस्तै, सरकारका कमजोरीहरू लुकाउने होइन, तथ्यका आधारमा पहिचान गरी समयमै सुधार गर्ने आन्तरिक संस्कृतिको विकास अझ आवश्यक छ। आलोचना प्रतिशोधका लागि होइन, संस्थागत सुधारका लागि हुनुपर्छ।

    नेपालको राजनीतिक इतिहास यस सन्दर्भमा शिक्षाप्रद छ। ठूलो त्याग, बलिदान र वैचारिक आन्दोलनबाट स्थापित भएका दलहरू पनि क्रमशः व्यक्तिवाद, गुटबन्दी, भागबन्डा र सत्ता केन्द्रित राजनीतिका कारण आफ्ना मूल उद्देश्यबाट विचलित भएका उदाहरण प्रशस्त छन्। जनताले परिवर्तनको आशा बोकेका धेरै दलहरू अन्ततः आफैँ परिवर्तनको आवश्यकता बन्न पुगे।

    रास्वपाले यही इतिहासबाट शिक्षा लिन सक्नुपर्छ। किनकि यसलाई प्राप्त भएको जनसमर्थन केवल कुनै नेताप्रतिको आकर्षण होइन; त्यो पुरानो राजनीतिक संस्कृतिप्रतिको अस्वीकार र नयाँ सम्भावनाप्रतिको विश्वास हो। त्यो विश्वास जोगाउने एउटै उपाय भनेको आफ्नै घोषित सिद्धान्त, मूल्य र प्रतिबद्धताप्रति निरन्तर इमानदार रहनु हो।

    आज रास्वपाका अगाडि अवसर पनि असाधारण छ र चुनौती पनि त्यत्तिकै ठूलो। दुई तिहाइ नजिकको जनसमर्थन सहित सरकार सञ्चालन गर्ने अवसर विरलै प्राप्त हुन्छ। यस्तो अवस्थामा यदि पार्टी मूल्य राजनीतिबाट विचलित भई सत्ता राजनीतिमा सीमित भयो भने यसको उभार जति तीव्र थियो, अवसान पनि त्यत्तिकै तीव्र हुन सक्छ। तर यदि सुशासन, विधिको शासन, मेरिटोक्रेसी, संस्थागत निर्णय प्रणाली, नैतिक नेतृत्व र परिणाममुखी शासनलाई व्यवहारमै स्थापित गर्न सफल भयो भने यसले नेपालको लोकतान्त्रिक इतिहासमा नयाँ राजनीतिक मानक निर्माण गर्न सक्छ।

    पार्टीभित्र अवसर वितरण र नेतृत्व छनोटका विषयमा पनि गम्भीर आत्मसमीक्षा आवश्यक देखिन्छ। पालिका वा नगरको नेतृत्व सम्हाल्ने अनुभवसमेत सीमित भएका केही व्यक्ति केन्द्रीय नेतृत्वमा पुगेका छन् भन्ने चर्चा छ। त्यसैगरी जिल्ला तथा प्रदेश अधिवेशनमा पराजित भएका केही व्यक्तिहरूलाई केन्द्रीय जिम्मेवारीका लागि सिफारिस गरिएको भन्ने सार्वजनिक बहस पनि भइरहेको छ। अर्कोतर्फ, लामो समयदेखि संगठन निर्माण, नीति विकास र जनतासँग प्रत्यक्ष काम गर्दै आएका सक्षम, अनुभवी र योग्य धेरै कार्यकर्ता अझै अवसरको प्रतीक्षामा रहेको अनुभूति गर्छन्। सरकार गठनका क्रममा पनि विगतमा नेतृत्वसँग निकट रहेकै आधारमा केही व्यक्तिले जिम्मेवारी पाएको र क्षमता तथा कार्यसम्पादनको मापदण्डलाई पर्याप्त प्राथमिकता नदिइएको भन्ने जनधारणा निर्माण हुन थालेको छ। यी धारणा सत्य हुन् वा होइनन् भन्नेभन्दा पनि यस्ता प्रश्न उठ्न थालेका छन् भन्ने तथ्य नै वैकल्पिक राजनीतिको विश्वसनीयताका लागि चिन्ताको विषय हो। यदि रास्वपाले योग्यता, योगदान, कार्यसम्पादन र पारदर्शी प्रक्रियालाई अवसर वितरणको एकमात्र आधार बनाउन सकेन भने जनतामा स्थापित हुँदै गएको विश्वास क्रमशः कमजोर हुँदै जाने जोखिम रहन्छ।

    अन्ततः प्रश्न एउटै हो— के राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताले चाहेजस्तो उत्कृष्ट पार्टी बन्न सक्ला ?

    यसको उत्तर कुनै भाषण, घोषणापत्र वा नारामा छैन। यसको उत्तर सरकार सञ्चालनका निर्णयहरूमा, संगठन निर्माणको शैलीमा, योग्यताको सम्मानमा, आलोचना सुन्ने संस्कृतिमा र जनतासँग गरिएको वाचाप्रतिको इमानदारितामा छ।

    रास्वपाको अबको सबैभन्दा ठूलो परीक्षा चुनाव जित्ने होइन, जनताले दिएको विश्वासलाई सुशासन, न्याय, परिणाम र संस्थागत संस्कृतिमा रूपान्तरण गर्ने क्षमता देखाउनु हो। यदि उसले यो परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्न सक्यो भने रास्वपा केवल एउटा सफल राजनीतिक दल मात्र होइन, नेपालको लोकतान्त्रिक यात्रामा नयाँ अध्याय लेख्ने ऐतिहासिक शक्ति बन्न सक्छ। यदि त्यसो गर्न सकेन भने नेपाली जनताले फेरि एकपटक अर्को वैकल्पिक आशा गुमाउनेछन्।

    लेखक पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको लुम्बिनी प्रदेश समिति सदस्य हुनुहुन्छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij