लुम्बिनी पाना, देवदह ।लामो समयको प्रशासनिक असहजताका कारण भोग्दै आएको कष्टलाई देवदहको भलुही केउली उजेरी सटाकखोला तथा देवदह ११ र देवदह १२ का नागरिकले नेपाल सरकारलाई सुझाव पत्र बुझाएका छन । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघिय मामिला विभागको वडा विभाजन तथा समायोजन सम्बन्धी मस्यौदाको बुँदा नं. ४ प्रति असहमति जनाउँदै देवदहका स्थानीय बासिन्दाले देवदह नगरपालिका तथा ईमेल मार्फत सुझाव पत्र बुझाएका हुन ।
केशव पराजुलीको नेतृत्वमा भलुही, केउली, उजेरी, सटाकखोला, देवदह ११ र १२ का बासिन्दाहरूले देवदह नगरपालिका मार्फत सम्बन्धित निकायमा सुझाव पेश गरेका हुन्। उक्त सुझाव पत्र प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालमार्फत नगरपालिकामा दर्ता गराइएको जनाइएको छ ।
सुझाव पत्रमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मस्यौदाको बुँदा नं. ४ मा एउटै प्रदेश सभाको निर्वाचन क्षेत्र हुनुपर्ने तथा राज्य पुनर्सरचना हुनु भन्दा पहिलेको वडालाई फुटाउन नपाईने भएका कारण वडा समायोजनमा व्यावहारिक कठिनाइ उत्पन्न हुने उल्लेख गरिएको छ।
सुझावमा उल्लेख गरिएअनुसार सम्बन्धित सबै क्षेत्र रुपन्देही क्षेत्र नं. १ अन्तर्गत पर्ने भएकाले संघीय निर्वाचन क्षेत्र एउटै हुने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ ।
सोही व्यवहोराको राय सुझाव संघीय मामिला तथा सामान्री प्रशासन मन्त्रालयमा समेत इमेल मार्फत दर्ता गराइएको छ भने सोही विषयमा प्रतिनिधि सभाका सदस्यहरू श्रद्धा कुँवर र ताहिर अलि भाटलाई समेत ध्यानाकर्षण गराइएको छ ।
विशेषगरी देवदह नगरपालिका वडा नं. ९ र १० का भलुही क्षेत्र तथा वडा नं. ६ का केउली, उजेरी र सटाकखोला क्षेत्रलाई समेटेर वडा नं. ९ को खेल मैदान आसपास केन्द्र रहने गरी समायोजन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ । यसका लागि मस्यौदाको बुँदा नं. ४ संशोधन वा खारेज गर्नुपर्ने माग गरिएको छ ।सुझाव पत्र बुझाउने कार्यक्रममा वडा नं. १२ बाट अजय रौनियार, वडा नं. ९ बाट जस बहादुर पुन र वडा नं. ११ बाट असिम श्रेष्ठ, वडा नं. ६ बाट सरोज थापा,वडा नं.१० बाट जस कुमार पुन लगायतको सहभागिता रहेको थियो।
स्थानीयको पहुँच, प्रशासनिक सहजता तथा ऐतिहासिक संरचनालाई मध्यनजर गर्दै निर्णय लिनुपर्ने आवश्यकता समेत सहभागीहरूले औंल्याएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij