फागुन १४, दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगे ।
अस्पतालमा पीडितलाई भेटेपछि हर्षवर्धनले भने, ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ । सोमबार ८१ जनालाई घाइते अवस्थामा यहाँ ल्याइएको थियो । मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ । यीमध्ये ३०–४० जना उपचार गरेर घर फर्किसकेका छन् । यहाँ मैले विभिन्न वार्डमा बिरामीको अवस्था देखेको छु । यीमध्ये कति बिरामीको स्थितीलाई गम्भीर मान्न सकिन्छ ।’

यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए ।समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले यसको जानकारी दिएको हो ।
जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो । सोमबार त हिंसा नै सुरु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij