सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नारायणी नदीमा भेटियो डल्फिन

नारायणी नदीमा भेटियो डल्फिन

images
  • 767
    SHARES

  • images
    images
    images
    नारायणी नदीमा भेटियो डल्फिन
    images
    images
    images


    चितवन । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाट नारायणी नदीमा डल्फिन फेला पार्नुभयो । यसअघि मङ्सिर १४ गतेसमेत त्यही ठाउँमा उहाँले डल्फिन देख्नुभएको थियो । गएकाे वर्ष नारायणी नदीको भेलौजी भन्ने ठाउँमा समेत डल्फिन फेला पार्नुभएका उहाँ यतिबेला उत्साहित हुनुहुन्छ ।

    लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उहाँले बताउनुभयो । ‘नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ, यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ’, उहाँले भन्नुभयो ।

    images
    images
    images

    नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न ठाउँमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने ठाउँमा डल्फिन देखिने गरेको छ । यी ठाउँमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताउनुभयो ।

    लामो समयको अन्तरालपछि क्रमश : डल्फिन देखिनु आफैँमा खुसीको कुरा भएको उहाँले बताउनुभयो । यस क्षेत्रमा दुई वटा डल्फिन देखिने गरेको महतोले बताउनुभयो । गएकाे मङ्सिर १४ गते डल्फिनको फोटोसमेत खिच्न भ्याउनुभएको थियो ।

    संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालैमात्र नारायणीमा डल्फिन फेला पारेको बताउनुभयो । पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उहाँको भनाइ छ । त्रिवेणीमा रहेकाे नेपाल भारत सीमामा रहेको बाँधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उहाँको भनाइ छ ।

    ‘अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ’, उहाँले भन्नुभयो ‘पहिला धेरै देखिने ठाउँ हो पछि बिस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो ।’

    नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणलेसमेत फाइदाजनक भएको उहाँको भनाइ छ । नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधिलाई बढाउने संरक्षणकर्मी चौधरीले बताउनुभयो । ‘यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवर्द्धन हुन्छ’, उहाँले भन्नुभयो ।

    डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ ।

    ‘नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्नेलगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्त्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ ।’

    नारायणी नदीमा नियमितरुपमा डल्फिन देखिँदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताउनुभयो । ‘हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्नकै लागि पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ’, उहाँले भन्नुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij