विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को २(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त कार्कीको पद तथा गोपनीयताको शपथ सोमबार २ बजे हुनेछ । प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका छन् ।एमाले संसदीय दलका नेता कार्कीले आइतबार ६० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कार्की झापा –५ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
यसअघि प्रदेशसभाका ६० जना सदस्यको हस्ताक्षरसहित कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाइ सदस्यको समर्थनमा कार्कीले दाबी पेश गरेका थिए ।
प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।
प्रदेश प्रमुख खापुङ्गले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न समय दिएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij