बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का केन्द्रिय उप महासचिव हरिबोल गजुरेलले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार र माओवादी पार्टी नयाँ शिराबाट अघि बढेको बताएका छन्। शनिवार तिलोत्तामामा माओवादी केन्द्र रुपन्देहीद्वारा आयोजित पार्टी अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार समेत रहेका नेता गजुरेलले पार्टी र सरकार अध्यारोबाट उज्यालोतर्फ गएको बताए।
" कामरेड प्रचण्ड नेतृत्वको सरकारले छिटो पुर्णता पाउँछ । सरकार र पार्टी नयाँ शिराबाट अघि बढेको छ र समग्रमा भन्दा सरकार र माओवादी केन्द्र अध्यारोबाट उज्यालो तर्फ अगाडि बढेको छ।" नेता गजुरेलले भने, " सरकारले छिट्टै पूर्णता पाउँछ, पार्टी सकारात्मक दिशातिर छ र सबै माओवादी एकै ठाउमा उभिने अवस्थामा छौं ।"
स्थायी गुटबन्दीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाउने बताउदै नेता गजुरेलले बहस र छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे । कम्युनिष्ट आन्दोलनले समाजवादको दिशा पहिल्याउन फरक किसिमले बहस संचालन गर्नुपर्ने उनको भनाई छ।
पार्टीका केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले जनयुद्धको उपलब्धिको रक्षा गर्न माओवादीहरु एकजुट हुनु पर्नेमा जोड दिए । सामन्त दलालहरुले सरकार संचालनमा प्रभाव पार्ने गरेको स्वीकार गर्दै नेता खनालले माओवादीले आफ्नो वर्गको संरक्षक गर्न नसकीएको बताए । प्रशिक्षणमा केन्द्रीय सदस्य किस्मत बिकले माओवादीको एजेन्डामा मुलुक चलेको बताउदै मुलुकको समस्या समाधान गर्ने पनि माओवादी केन्द्र भएको दावी गरे ।
रुपन्देहीका जिल्ला संयोजक नारायण जिसि (निर्मल)ले पार्टीले जनता र कार्यकर्ताको मनोभावना बुझेर काम गर्नुपर्ने बताउंदै पार्टी निर्माणमा होमिन कार्यकर्तालाई निर्देशन दिए । जिल्लाको भाबि योजना पेस गर्दै संयोजक जिसीले रुपन्देहीमा पार्टीलाई मजबुद बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
प्रशिक्षण बैठकमा रुपन्देही क्षेत्र न. १ का इन्चार्ज लेखनाथ न्यौपाने, क्षेत्र न. ३ का इन्चार्ज तिर बहादुर रोका (डार्बिन),क्षेत्र न. २ सह- इन्चार्ज दिपा बिक, क्षेत्र न. ४ का सह -इन्चार्ज सन्त कुमार यादव, क्षेत्र न. ५ का सह- इन्चार्ज चन्द्र घर्ती लगायतले पार्टीको वर्तमान अवस्थाको रिपोर्टिङ राख्नु राखेका थिए।
मणिग्राम बैठकसंगै माओवादी केन्द्र रुपन्देहीले दुई महिने पार्टी निर्माण तथा संगठन विस्तार अभियानको सुरुवात गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij