गिरी त्रामु
रुपन्देही। पछिल्लो समय देशभर डेंगु रोगको जोखिम बढेको छ। डेंगु रोगको जोखिम बढे संगै सचेतना अपनाउन र नियन्त्रणका लागि बिभिन्न अभियान समेत चलाइएको छ। देवदह नगरपालिकाले पनि डेंगु रोग नियन्त्रणका लागि हरेक दिन १० बजेबाट १० मिनेट आफ्ना आफ्ना कार्यालय परिसरमा सफाई अभियान चलाउने, प्राइभेट क्लिनिकमा उपचार आउनु भएका सबै डेङ्गु बिरामिको तथ्यांक हरेक दिन नगरपालिका स्वास्थ्य शाखाले संकलन गर्ने र खोज र नष्ट गर कार्यक्रम हरेक वडा स्तरमा र टोलटोलमा संचालन गर्ने अभियान चलाएको छ।
डेंगु रोगको परिचय, सर्ने तरिका, लक्षण र बच्ने उपायबारे देवदह नगरपालिकाका जन स्वास्थ्य निरीक्षक गिरी तरामुले तयार पार्नुभएको सामाग्री।
डेँगु ज्वरो (Dangue Fever)
परिचय
डेँगु ज्वरो पोथी लामखुट्टे ( एडिस एजिप्टाई Aedes Aegypti) टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । बर्षातको मौसम सुरु भएपछि यसको प्रकोप बढ्न थाल्दछ। यो रोग नेपालको तराई जिल्लामा बढि देखिए पनि हाल यसको प्रकोप पहाडी जिल्लामा पनि
देखिएको छ ।
लामखुट्टेको बासस्थान
यो रोग बनाउने लामखुट्टेले सफा पानी स-साना स्थानमा फुल पार्ने गर्दछ । पानी जम्ने टिनका डब्बाहरु , खाली डब्बा, थोत्रा वा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फूलदानी, गमला, कुलर, पानी ट्याङ्की आदिमा यसले फुल पार्दछ।यस लामखुट्टेको
तिब्र गतिमा बृद्धि विकास हुन्छ ।
लामखुट्टेले टोक्ने समय
प्रायजसो डेँगु ज्वरो बनाउने लामखुट्टेले दिनमा टोक्ने गर्दछ ।
मुख्य लक्षण तथा चिन्हहरु
-एक्कासी ३ देखि ५ दिनसम्म उच्च ज्वरो आउने
-धेरै टाउको दुख्ने,
-आँखाको गेडी दुख्ने
-शरीरमा बिमिरा तथा डाबर आउने
-खाना अरुची हुने
-जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने
-पेट तथा आन्द्राको समस्या हुने
-नाक तथा गिजाबाट रक्तश्राव हुने
-बान्ता हुने
-बेहोश हुने
-थकान महसुस हुने
-घाँटीका ग्रन्थी सुनिने
डेँगु ज्वरोको जोखिम हुने अबस्थाहरु
बच्चा
बृद्धाहरु
गर्भवती महिलाहरु
मोटो शरीर भएका मानिसहरु
जीर्ण रोगीहरु
मानसिक रोगीहरु
रक्तश्राव हुने रोगीहरु
उपचार
डेँगु ज्वरो भाईरको कारणबाट हुने भएकोले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा लक्षण अनुसार उपचार गरिन्छ। अत्याधिक ज्वरोको लागि उमेर वा शरिरको तौल अनुसार पारासिटामोलको प्रयोग ६ वा ८ घन्टाको फरकमा खाना पछि खान सकिन्छ। तर ज्वरो नियन्त्रण गर्न एसप्रिन तथा ब्रुफेनको प्रयोग गर्नाले झन् बढि रक्तश्राव हुन सक्छ ।त्यसैले यि औषधिको प्रयोग नगर्नु राम्रो हुन्छ । प्रशस्त झोलिलो खानेकुरा पिउने तथा आराम गर्नु पर्दछ ।
डेँगु ज्वरोबाट बच्ने उपाय
-लामखुट्टेको टोकाईबाट बच्ने
-लामखुट्टेको बृद्धि विकासमा नियन्त्रण गर्ने
-सुत्ने बेलामा झुलको प्रयोग गर्ने
-घर वरपर तथा खेतबारीमा काम गर्न जाँदा बाहुला भएको कपडा तथा मलम लगाउने
-घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डीहरु पुर्ने र घरआँगन सफा राख्ने
-पुराना टायर, पानी जम्न सक्ने भाँडाकुँडा, बट्टा खाल्डो खनेर पुर्ने वा नष्ट गर्ने
-झ्याल ढोकामा जाली लगाउने र बन्द राख्ने
-पानी राख्ने भाँडाहरु सधैँ छोपेर राख्ने
-गमला, फुलदानी, एयर कुलर जस्ता पानी जम्ने सामाग्रीको पानी हप्तामा एकपटक नियमित रुपमा सुख्खा हुने गरी सफा गर्ने
-प्रयोग नभएका भाँडाहरु घोपट्यार राख्ने
-लामा बाहुला भएका पुरा शरीर ढाक्ने लुगा लगाउने
-पानी जमिरहने ठाँउमा मोबिल वा मट्टितेल हालिदिने
गिरी त्रामु
जन स्वास्थ्य निरीक्षक
देवदह नगरपालिका
(देवदह टाइम्स पत्रिकामा प्रकाशित भएको)
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij