लुम्बिनी पाना, देवदह । देवदहमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप अभियान संचालन हुने भएको छ । नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप नियमित अभियान २०८२ सञ्चालन हुन लागेको हो।
अभियान माघ २५ गतेदेखि २९ गतेसम्म देवदह नगरपालिकाभित्र सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ। अभियानअन्तर्गत नगरभित्रका कक्षा ६ का छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी निःशुल्क एच.पि.भी. खोप प्रदान गर्न लागिएको नग्गरपालिकाका स्वास्थ्य शाखा अधिकृत काशीनाथ बन्जाडेले जानकारी दिए ।
देवदह नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गिरी तरामुका अनुसार पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने गम्भीर स्वास्थ्य समस्या भए पनि एच.पि.भी. खोपमार्फत यसको प्रभावकारी रोकथाम सम्भव रहेको बताए। उनले लक्षित उमेर समूहका सबै किशोरीहरूलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्दै खोप सुरक्षित र निःशुल्क रहेको स्पष्ट पारे।
खोप विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट प्रदान गरिँदै आएको छ। स्वास्थ्य शाखाले अभियान सफल बनाउन अभिभावक, विद्यालय प्रशासन तथा सम्बन्धित सबै पक्षसँग सहकार्य गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि स्वास्थ्य शाखाको सम्पर्क नम्बर १११५ मा फोन गर्न सकिने जनाइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij