रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गते देखि सुरु गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी तीव्र परिएको छ। माओवादी केन्द्र देवदह नगर कमिटीको बिहिबार बसेको बैठकले ३ महिना संचालन हुने ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ अभियानलाई भब्य रुपमा सफल बनाउने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटि सदस्य तथा अभियानको रुपन्देही इन्चार्ज गणेशमन पुनले ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ को नारासँगै तीन महिने अभियान सञ्चालन हुने बताउनुभयो ।
जनतको सच्चा पहरेदार माओवादी केन्द्र रहेको बताउदैं नेता पुनले देशमा आमूल परिवर्तन र जनताको हक अधिकार सुनिश्चितताका लागि माओवादी केन्द्रले संघर्ष गरेको भन्दै जनताको घरघर र जनजनमा माओवादी केन्द्रको अभियानलाई लैजानुपर्ने बताउनुभयो।
माओवादी केन्द्रले जातियताको कुरा गरेर बिखन्डन गर्न खोजेको भन्ने आरोप लागेर माओवादी केन्द्रको बदनाम गर्न खोजिएको बताउदैं नेता पुनले माओवादीले जातीयता नभई पहिचान सहितको सभ्यताको कुरा गरेको विचार व्यक्त गर्नु भयो। नेपालमा मधेश सभ्यता, थारु सभ्यता, किरात, लिम्बुवान, मिथिला लगायत सयौं सभ्यता रहेको र यी सभ्यताको पहिचान सहित संरक्षण गर्न उठाएको मुद्दालाई जातिय मुद्दा भन्न खोज्नु खेदजनक रहेको उहाको भनाई थियो।
त्यस्तै पार्टी केन्द्रिय सदस्य तथा प्रनितिधि सभा सदस्य नारायणी शर्माले माओवादी केन्द्र अब पार्टी बनाउने अभियानमा लागेको बताउदैं सबै तहमा संगठन मजबुत बनाउन र पार्टी संगठनको वर्तमान अवस्था पहिचान गर्न अभियान महत्वपुर्ण हुने बताउनुभयो। माओवादी विशेष धातुले बनेको बताउदैं शर्माले अभियान मार्फत पुन मजबुत बनाउने उद्घोष गर्नुभयो।
त्यस्तै संबिधान सभा सदस्य तथा विशेष अभियानका देवदह इन्चार्ज सिता देवी बौडेलले यो अभियान दस्तावेज बनाउन र अभिलेख राख्नका लागि मात्रै नभएर वास्तविक रुपमै पार्टीलाई मजवुत बनाउनका लागि ल्यैएको बताउनुभयो। कतिपय ठाउँमा माओवादी आन्दोलन र संगठन पूर्ण रुपमा विरामी अवस्थामा रहेको र सिटामोल मात्र खुवाएर निको हुने अवस्थामा नरहेको बताउदैं शल्यक्रियानै गर्नुपर्ने धारणा राख्नुभयो।
पार्टी रुपन्देहीका संयोजक निर्मल जिसीले सबै किसिमका परिवर्तन ल्याएर पनि जनतामाझ निर्धक्क कुरा राख्न नसकिएको बताउनुभयो। परिवर्तनका खातिर माओवादी केन्द्रले गरेको वलिदानी, त्याग, तपस्याका बारे जनतालाई स्पस्ट बुझाउनुपर्ने उहाँको भनाई थियो। “पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णयलाई पार्टी मजवुत बनाउने अभियानका रुपमा लिई सबै तहका कार्यकर्ता लाग्नुपर्ने संयोजक जिसीको भनाई रहेको थियो।
वडा तहमा जिम्मेवार बाडफाड गरि जनताको घर घरमा पुग्ने अभियानको तयारी तिब्र पारिएको माओवादी केन्द्र देवदह नगर कमिटिका अध्यक्ष गोबिन्द ठडराईले जानकारी दिनुभयो। पार्टी सदस्य नवीकरण, नयाँ सदस्य अभियान लगायतका कामलाई तीव्र बनाई ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ अभियानलाई भब्य रुपमा सफल बनाउने उहाँको भनाई रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij