देवदह । पूर्व अर्थमन्त्री, नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेताकार्यकर्ताहरुलाई पदका लागि नभई कामका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ ।
नेकपा एमाले देवदह नगर कमिटीको नव निर्वाचित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउदै प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले पदको लागि मरिहत्ते गर्ने कुरा थाती राखेर जनताको काम गरेर मन जित्न आग्रह गर्नुभयो ।
विगतमा जे जस्तो राजनीतिक घटनाक्रम भएपनी अब एक अर्काको खुट्टा तान्ने प्रवृत्तिलाई अन्त्य गरि पार्टी बलियो बनाउन लाग्नुपर्ने उपाध्यक्ष पौडेलको भनाई थियो। नेकपा एमालेले केन्द्र, प्रदेश र स्थानीय तह गरि तिनै तहमा एमाले नेतृत्वको एकल बहुमतको सरकार गठन गरे मात्र मुलुक समृद्धिको दिशामा जाने उहाँको भनाई थियो।
अहिले गठबन्धन सरकारले जनताको हित बिपरित कार्य गरिरहेकोले केन्द्र र प्रदेश सरकारलाई खबरदारी गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको पौडेलको तर्क थियो। गठबन्धन सरकारको नेतृत्व असफल भैसकेको अभिव्यक्ति व्यक्त गर्दै देश र जनाताको हितका लागि सदन र सडकबाट समेत संघर्ष गर्नुपर्ने अवस्था आएको उपाध्यक्ष पौडेलको भनाई थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij