काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि वेला फुट्ने बताएका छन्।
सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुके पनि फुट्ने र भिजे भने पनि फुट्ने टिप्पणी गरे। बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप लगाए।
ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गरे। उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको दावी गरे। काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेसँग बहुमत छैन। हामी प्रतिपक्षमा छौं। त्यसकारण हामीले सुझाव दिने हो। त्यो सुझाव गठबन्धनको सुनिराखेको छैन गठबन्धन खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने, प्रतिगमनका लागि? काँग्रेस जनपक्षीय, प्रगतिशील हुनुपर्नेमा पछाडि फर्कन खोजिराखेको छ।’
अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij