यम राना
विषय प्रवेशः
देवदह आफैमा पर्यटकिय विकासको संभावना भएको क्षेत्र हो। बुद्धसँग जोडिएका ऐतिहासिक स्थलहरु देवदहमा रहेका छन् । गौतम बुद्धलाई जन्म दिने आमा मायादेवी, पालनपोषण गर्ने सानीआमा प्रजापतिको जन्म यहि भुमिमा भएको हो। त्यसै गरी बुद्धकी जीवन संगिनी यशोधराको जन्म थलो पनि देवदह नै हो। गौतम बुद्धले आफ्ना बाल्यकालका केही समय यहि भुमिमा व्यतित गरेका थिए ।
प्राचिन ऐतिहासिकताको आधारभुमि देवदह पछिल्लो समयमा विभिन्न जातजाति र भाषा, संस्कृक्तिको साझा फुलवारीको रुपमा विकास भएको छ । यहाँ रहेका विभिन्न जातजातिहरु मध्ये मगर मूख्य जात हो । मगरहरुको कला, संस्कृति र परम्परा अनुपम छ। ति कला र संस्कृतिको प्रवर्द्धनबाट देवदहको सम्वृद्धिमा योगदान दिन सकिन्छ ।
यहाँ आउने वाह्य तथा आन्तरीक पर्यटकहरुलाई देवदहमा केही दिन भए पनि रोक्न सकियो भने आर्थिक विकासको पक्षलाई मजवुत बनाउन सकिन्छ । यहाँ पर्यटक लक्ष्यित होटल तथा लजहरु सञ्चालित छन् । यसका अतिरिक्त होमस्टे घरवास) कार्यक्रमबाट पनि धेरै भन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ। सोही लक्ष्य अनुरुप देवदह - ६, उजेरीमा सामुदायिक होमस्टे दर्ता तथा सञ्चालन गरिएको छ ।
होमस्टे (घरवास) को लक्ष्यः
आधुनिक सेवा र सुविधाको लागि होटल, लज, रिर्सोटहरु प्रभावकारी हुन सक्छन् । जहाँ पाईने सेवाहरु युनिभर्सल हुन्छन । तर होमस्टे घरवास) को सेवा आफ्नै विशेषता अन्र्तगतको हुन्छ । जहाँबाट पारिवारीक एवम आत्मियताका भावहरु पाउन सकिन्छ। रैथाने तथा पारम्पारीक खाना, संस्कृति तथा परम्पराको अवलोकन जस्ता विषयहरु होमस्टेमा पाईन्छ । आजको आधुनिक युगमा मानिसहरु गाउँघर, वनजंगल र खोलानालासँग साक्षत्कार गर्न रुची राख्दछन् । सोही वमोजिम उनीहरु शहर केन्द्रीत भन्दा पनि गाउँ केन्द्रीत भएर आफ्नो फुर्सदिलो समय विताउन चाहान्छन । त्यसका लागि सवै भन्दा उपयुक्त ठाउँ होमस्टे बन्न सक्दछ । उजेरी सामुदायिक होमस्टे यस्तै रुची भएकाहरुको सेवाका लागि स्थापना गरिएको सामुदायिक संस्था हो। यस होमस्टेको माध्यमबाट जातिय संस्कार र संस्कृतिको पहिचान एवम परिचयलाई विस्तार गर्ने लक्ष्य राखिएको छ। चुरे पहाडको फेदी, वनजंगलको विच भाग, प्राकृतिक सौन्दर्यताको खानी रहेको यस होमस्टे घरवास) मा सस्तो, शुलभ र पारिवारीक वातावरण प्रवाह गरिन्छ ।
त्यसका साथै यहाँ उत्पादन हुने कृषिजन्य उत्पादनलाई सबैको वीचमा प्रवाह गर्ने यस होमस्टेको लक्ष्य रहेको छ । यहाँ अर्गानिक उत्पादन प्रशस्त मात्रामा हुन्छ। यहांका सिजन अनुसारका तरकारीहरुलाई वजारीकरण गरेर यहाँका वासिन्दाको आर्थिक विकासमा योगदान दिन सकिन्छ । लोकल कुखुरा, बंगुरको मासुको स्वाद अनुसारको परिकार यहाँ पाउन सकिन्छ ।
सांस्कृतिक वजारीकरणः
नेपाली मौलिक कला र संस्कृति लोप हुने अवस्थामा छन् । त्यसको संरक्षण र सम्बर्द्धन आजको मूख्य आवश्यकता हो। हाम्रो आफ्नोपन र पुर्खाको योगदानलाई सबैले जान्न र बुझ्न जरुरी हुन्छ । होमस्टे घरवास) ले त्यस कार्यको अगुवाई गर्दछ । हाम्रा पुराना संस्कृति, परम्परा, मौलिक नाचगानलाई होमस्टेले जोगाई राख्छ । त्यसका साथै यी सांस्कृतिक सम्पदालाई वजारीकरण गरेर आर्थिक उपार्जनको आधार पनि तयार गर्दछ। मगर समुदायमा प्रचलित सालैज्यो, झ्याउरे, कौराहा लयागतका गीत तथा नृत्य यहां अवलोकन गर्न सकिन्छ। पाहुनाका लागि आयोजना गरिने सांस्कृतिक कार्यक्रममा रुची भएका पहुनाले समेत गीत र नृत्यमा सहभागी भएर मनोरञ्जन लिन सक्छन् । यी कला र संस्कृतिको प्रस्तुति निर्धारीत समयको हुन्छ । पहुनाहरुले त्यस वापतको निश्चित शुल्क भुक्तान गर्छन ।
नेपाल आफैमा विविध संस्कृतिले सजिएको राष्ट्र हो। यहाँको संस्कृतिलाई जोगाई राख्न सकिएमा भावि पुस्तालाई पहिचानयुक्त समाज हस्तान्तरण गर्न सकिन्छ । त्यसैले सांस्कृतिक वजारीकरणलाई प्रभावकारी रुपमा अगाडी बढाउन पर्यटन विकासको आवश्यकतालाई उजेरी होमस्टेले विशेष जोड दिएको छ ।
देवदहको पर्यटकिय प्रवर्द्धनः
ऐतिहासिक महत्व बोकेको देवदहमा भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकहरु विहान आउने र केही समय वसेर फर्कने गर्छन् । उनीहरुलाई केही घण्टा समेत यहाँ भुलाउने ठाउँ निर्माण हुन सकेको छैन । त्यस्तो अवस्थालाई उजेरी सामुदायिक होमस्टेले अन्त्य गर्ने छ । यहाँ आउने पर्यटकहरुलाई केही दिन भए पनि वस्न सक्ने वातावरण होमस्टेले निर्माण गर्नेछ । वुद्धकालिन महत्वका स्थानहरु घुमेर साँझ वास वस्न तथा सांस्कृतिक कार्यक्रममा रमाउन होमस्टेले मद्धत गर्नेछ ।यस कार्यले देवदहको पर्यटन विकासमा योगदान दिने विश्वास छ ।
संघ, संस्थाका कार्यक्रम गर्न सकिनेः
देवदह नगरपालिका र देवदह ६ वडा समितिको पहलमा उजेरी सामुदायिक होमस्टे सामुदायिक भवन निर्माण कार्यमा जुटेको छ। पाहुना राख्ने घर त प्रत्येक उजेरीवासीले निर्माण गरेका छन् । तर सामुदायिक भवनको अभाव भने कायम थियो । अव त्यो अभाव पनि पुरा भएको छ । उजेरी होमस्टेमा अव विभिन्न संघ, संस्थाले सेमिनार, गोष्ठी, छलफल, साधारणसभा लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्नेछन् । झण्डै २ सय जना सहभागी भएर कार्यक्रम सञ्चालन गर्ने गरी सामुदायिक सभा हल निर्माण भई रहेको छ ।
निष्कर्षः
उजेरी सामुदायिक होमस्टे देवदह क्षेत्रको सामुदायिक अभियान बोकेको संस्था हो। यसको विकास र उन्नतिमा देवदहवासीको साथ र सहयोगको खाँचो छ । देवदहका हरेक व्यक्ति, समुदाय, राजनीतिक तथा सामाजिक व्यत्तित्वहरु, शैक्षिक संस्थाहरुले होस्टेमा हैसै गरेर अघि बढन सकिएमा देवदह क्षेत्रको पर्यटकिय विकासमा महत्वपुर्ण योगदान दिन सकिन्छ । यसको माध्यमबाट देवदहको पहिचान र गरिमालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा माथि उठाउन सकिन्छ । उजेरी सामुदायिक होमस्टेको माध्यमबाट देवदहको पहिचान र परिचयलाई माथि उठाउन सकिन्छ ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij