प्रकाश अधिकारी
प्रकाश अधिकारी । बालबालिकामा लगानी: सुनिश्चित भबिष्यको थालनी भन्ने नाराका साथ आज देशैभर ६० औ बाल दिवस भब्यताको साथका मनाइदै छ। बालबालिकाको विकास, सुरक्षा, र अधिकार सुनिश्चित गर्न घर दैलोको सरकारको रुपमा रहेको स्थानिय सरकारको महत्वपूर्ण भूमिका हुन्छ। स्थानिय सरकारले बालबालिकाको हक अधिकारको संरक्षण र प्रवर्द्धन गर्न धेरै पक्षमा काम गर्नुपर्छ। यहाँ स्थानिय सरकार र बालबालिकासँग सम्बन्धित केही प्रमुख भूमिकाहरू प्रस्तुत गर्ने जमर्को गरिएको छ।
१. शिक्षा गुणस्तरीय शिक्षा:
स्थानिय सरकारको भूमिका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच उपलब्ध गराउनुमा हुन्छ। यसमा बालबालिका विद्यालयमा जाने सुनिश्चित गर्न, विद्यालयको पूर्वाधार सुधार गर्न, योग्य शिक्षकहरूको व्यवस्था गर्न, र शिक्षामा गुणस्तर कायम राख्न पहल गर्नुपर्छ। आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई छात्रवृत्ति, निःशुल्क पठनपाठनका सामाग्री, र पोषणयुक्त खाजा कार्यक्रमको व्यवस्था गर्न सकिन्छ।
२. स्वास्थ्य स्वास्थ्य सेवाहरू:
स्थानिय सरकारले बालबालिकाको स्वास्थ्य सुधारका लागि आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराउनु पर्छ। यसमा नियमित खोप कार्यक्रम, पोषण अनुगमन, र बाल स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरू समावेश हुन्छन्।
३. बाल संरक्षण बालअधिकार संरक्षण:
बालबालिकामाथि हुने दुर्व्यवहार, शोषण, र हिंसाको अन्त्य गर्न स्थानिय सरकारले सक्रिय भूमिका खेल्नुपर्छ। यसका लागि बाल अधिकार सम्बन्धी कानुनी सहायता, सुरक्षा कार्यक्रमहरू, र जनचेतना फैलाउनु आवश्यक छ। बालश्रम नियन्त्रण: बालश्रमको अन्त्य गर्न कानूनी उपाय र बालबालिकालाई जोखिमपूर्ण कामबाट जोगाउन स्थानिय सरकारले निगरानी र कार्यान्वयन गर्नुपर्छ।
४. सामाजिक र सांस्कृतिक विकास बालमैत्री वातावरण:
बालबालिकालाई आफ्नो क्षमता विकास गर्न अनुकूल वातावरण प्रदान गर्न, बालमैत्री स्थान निर्माण, खेलकुद स्थलहरूको निर्माण, र बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने क्रियाकलापहरू आयोजना गरि प्रतिस्पर्धात्मक भावनाको बिकास गर्नुपर्छ।त्यस्तै गरि स्थानिय सरकारले बालबालिकालाई आफ्नै संस्कार, परम्परा, र भाषालाई बुझ्न र जगेर्ना गर्न सहयोग गर्ने सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नुपर्छ।
५. बालबालिकासँग सम्बन्धित नीति तथा योजना नीति निर्माणमा संलग्नता:
स्थानिय सरकारको नीति तथा योजना निर्माणमा बालबालिकाको सहभागिता सुनिश्चित गर्नुपर्छ। बालबालिकाका आवश्यकतालाई बुझेर स्थानिय स्तरमा नीति निर्माण गर्दा तिनीहरूको भविष्य सुधार्न सहयोग पुग्छ।
अनुगमन र मूल्यांकन:
स्थानिय सरकारले बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूको अनुगमन र मूल्यांकन गरी तिनको प्रभावकारिता बढाउन पहल गर्नुपर्छ। यी सबैकुराहरुमा बिद्यालय स्तर र स्थानिय स्तरमा बाल क्लबहरु गठन गर्ने, नेतृत्व बिकास गर्दै आफ्ना समस्याहरु सम्बन्धित ठाउँमा राख्न सक्ने, सङठित हुने जस्ता कुराहरुमा अभिभावकहरुलाई समेत सचेत गराइ बालबालिकाहरुको सहभागितामा वृद्धि गर्नु पर्छ। आजको दिनमा स्थानीय सरकारले बालबालिकाको समग्र विकास, सुरक्षा, र सशक्तीकरणमा प्रतिबद्धता ब्यक्त गरे बाल दिवसको सान्दर्भिकता रहन्छ।
६० औं बाल दिवसको अवसरमा सम्पुर्ण बालबालिकाहरुमा हार्दिक शुभकामना ।
प्रकाश अधिकारी
संचालक रोज बड मन्टेश्वरी स्कुल
देवदह-६, खैरेनी
प्रस्तुत लेख ६० औं बाल दिवसको अवसरमा प्रकाश अधिकारीले लेख्नुभएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij