देवदह ९, असोज । रुपन्देहीको देवदहमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सेतो गुराँस बालविकास सेवा रुपन्देही द्वारा संचालित " पोषण मार्फत जीवन रुपान्तरण "(Transforming lives through Nutritions -TLTN) परियोजनाको बारेमा देवदह नगरपालिकाको पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति लाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले पोषण तथा खाद्य सुरक्षा सम्बन्धि कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।
पोषण र कुपोषण, पोषणको महत्व, कुपोषण रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार निकायहरु, कुपोषणको अवस्था, नेपालका बालबालिका तथा प्रजनन् उमेरका महिलाहरुको खानपिन शैली लगायतका विषय आम सर्वसाधारणमाझ बुझाउन सकेको खण्डमा उपयुक्त हुने उहाँको धारणा थियो।
कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठ र हेलेन केयर फिल्ड अफिसर जितेन्द्र कहरले गर्नुभएको थियो।
कार्यक्रममा पोषण सम्बन्धि जानकारी, पौष्टिक आहार, पोषणको महत्त्व, कुपोषणको रोकथाम नियन्त्रण, ख्याउटेपन आदि विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवाली, वडा नम्बर ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा नम्बर ८ का अध्यक्ष हरी प्रसाद पाण्डे, सेतो गुराँसका अध्यक्ष ओमी पुन, सचीव मन्जु श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, विभिन्न संघ संस्थाका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो।
दिगो विकास लक्ष्य प्राप्तिका लागि १७ मध्ये १२ वटा सुचक पोषण सम्बन्धि रहेको छ।२०८७ सम्म देशभरका सबै वडालाई पूर्ण पोषणयुक्त वडा बनाउने लक्ष्य रहेको छ।
कार्यक्रम देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङ र स्वास्थ्य शाखाका कर्मचारी माया पुनको संचालनमा भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij