निर्मल एसपी थापा, लुम्बिनी पाना । देवदह पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको नगरपालिका हो। पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्न सकेको खण्डमा पर्यटन व्यवसाय बाटनै देवदहको समृद्धि सम्भव छ भन्दा अन्यथा नहोला। देवदह ऐतिहासिक पुरातात्विक महत्व बोकेको क्षेत्र पनि हो। प्राचीन कोलिय गणराज्यको राजधानी, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको मावलि स्थल भएको कारणले पनि देवदहको आफ्नै महत्व र विशेषता रहेको छ। देवदहमा रहेका ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरुको विषयमा यस लेख मार्फत जानकारी दिने प्रयास गरिएको छ ।
पाकडी वृक्ष
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ मा अवस्थित पाकडी वक्षलाई विश्वको दोस्रो ठुलो र एसियाकै ठुलो रुख मानिन्छ। करिव ३० मिटर परिधी र ३० मिटर उचाई भएको पाकडी वक्षले झण्डै ४ कठ्ठा जमिन ओगटेको छ । वृक्षको फेदीमा विभिन्न देविदेवताहरुको आकृक्तिहरु रहेको, पाकडी वृक्षको नजिक हात्ति नजाने, चराले गुंड नलगाउने सधैभरी हराभरा रहने जस्ता विषेशता रहेको रहेकोले स्थानियहरुले रुखको फेदमा धार्मीक मान्यता साथ पुजा अर्चना गर्ने गर्दछन् । पुर्व पश्चिम महेन्द्र राजमार्गको शितलनगर, खैरेनी बुद्ध चोकदेखि २ कि.मी. दक्षिणमा रहेको पाकडी वृक्ष आन्तरिक तथा बाहृय पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । देवदह नगरपालिकाको प्रमुख पर्यटकीय गन्तब्य पाकडी वृक्षको संरक्षण, प्रबर्दन र थप प्रचार प्रसार गर्न आवश्यक छ ।
माथागढी
समुद्री सतहदेखि करिव ५००० फिट उचाईमा पहाडी टापुमा अवस्थित माथागढी पाल्पा जिल्लाको माथागढी गाउँपालिका र रुपन्देहीको देवदह नगरपालिकाको सिमानामा अवस्थित छ। माथागढी चुरे पहाडको टुप्पोमा भएको यो गढी अति नै ठुलो शक्तिपिठ मानिन्छ । त्यसैले यसको नाम नै माथा अर्थात माता (देबी) गढी रहेको छ । यहाँ हरेक वर्ष मेला लाग्छ र भव्य पुजा हुन्छ । यहाँ अति पुराना हातहतियार पनि छन्।
यो ठाउँ कपिलबस्तु र देवदह राज्यको उत्तरापथ मार्गको द्वार थियो। नवलपरासी दक्षिण पूर्वको दाउन्ने गाँउमा सिन्जाका खस राजाहरूको राजधानी रहेको पनि इतिहासमा उल्लेख छ। पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने हेतुले देवदह-६ को सरनवारी देखि माथागढी किल्ला सम्म सिंढी मार्ग निर्माण गर्ने योजना बनाइएको छ । पहिलो चरणमा नेपाली सेनाले देवदह-माथागढी जोड्ने पदमार्ग अन्तर्गतको ११७ मिटर दूरीमा सिंढी र रेलिङ निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण समेत गरेको छ। देवदह माथागढी सिंढीमार्ग निर्माण सम्पन्न भएपछी आन्तरिक पर्यटन प्रबर्दनमा थप टेवा पुग्ने देखिन्छ ।
कन्यामाई / वैरिमाई
रुपन्देहीको देवदह शितलनगरको मुख्य गेटबाट दक्षिण तिर करिब १.५ किलोमीटर गएपछि कन्यामाई/वैरिमाई मन्दिर अवस्थित रहेको छ। 'मायादेवी' र कन्यामाई 'प्रजापति गौतमी' को जन्मथलो मानिएको र उहाँहरूकै मुर्ति सहितको मन्दिर भनी पूजा गरिने चलन यहाँ छ ।
यस स्थानमा स्थानमा पदमपाणी अवलोकितेस्वरको भाचिएको विशाल प्रस्तर मूर्ति पाइएको छ । यस स्थानामा प्राचिन कालका इट्टाहरूको खण्डहरु पनि भेटिएको छ। प्राचीन कन्यामाई र वैरीमाईका मूर्तिहरू निकै नै कलात्मक शैलीका विभिन्न आकारका साथै केही मूर्ति स्त्रीको रूपमा पनि देखिन्छ। वैरिमाई र कन्यामाईको प्रतक्ष्य रुपमा अवलोकनको लागि आन्तरिक बाहृय पर्यटकहरु आउने गरेका छन् । ऐतिहासिक प्राचीन कन्यामाई र बैरीमाई क्षेत्रको संरक्षण प्रबर्द्धन र प्रचार प्रसार गर्नु आवश्यक रहेको छ ।
भवानिपुर
बैरिमाइ कन्यामाइबाट करिब १ कि.मि. दक्षिणमा पर्ने भवानीपुर देबिदमारलाई प्राचिन देवदह भन्ने पनि चलन छ । भवानीपुरमा सेनकालिन सुर्यको मुर्ति र एक पत्थरको स्तम्भ पनि छ । जसलाई मौर्य सम्राट अशोकले गाडेको लुम्बिनी पछिको दोस्रो अशोक स्तम्भ मानिएको छ ।
भावानिपुरमा एक प्राचिन इनार पनि भेटिएको छ । दैनिक रुपमा बौद्द धर्मावलम्बीको अलावा आन्तरिक / बाह्य पर्यटकहरुले यस क्षेत्रमा भ्रमण गर्ने गर्दछन। देवदहको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको भवानिपुर क्षेत्रको थप प्रबर्द्धन र प्रचार प्रसार गर्न आवश्यक छ ।
विशेषत बुद्धिस्ट पर्यटकहरुलाई गौतम बुद्दको मावली स्थलमा ल्याउन सकेको खण्डमा पर्यटनबाट देवदहको विकासले फड्को मार्न गई समृद्धिको दिशामा अगाडी बढ्न सकिन्छ ।
खयरडाँडा / रोहिणी नदि
देवदह नगरपालिका-९ स्थित घोडाहा खयरडांडामा महत्त्वपुर्ण स्थल मानिन्छ । करिब २ कि.मि. क्षेत्रमा फैलिएको यस ठाउँमा १२ किलो वजन सम्मका इट्टाहरूको खण्डहर छ। यो ठाउँ प्राचिन देवदह नगरको भग्नावशेषको रूपमा रहेको छ। बुद्धकालीन मात्र होइन त्यस अघिका पुरातात्विक महत्वका धेरै सामग्रीहरू यहाँ भेटिएका छन् । लुम्बिनी विकास कोषले २०७९ जेठमा गरेको उत्खननको क्रममा यहां प्राचिन इनार र मध्यकालीन भग्नावशेष फेला परेको थिय्यो।
लुम्बिनी विकास कोषले देवदह नगरपालिका संगको सहकार्यमा उत्खनन् कार्यलाई निरन्तरता दिने भएको छ। रोहिणी नदि पवित्र नदि हो। प्राचिनकालमा यो कपिलवस्तु शाक्य राज्यको पूर्वी सिमा र देवदह शाक्यवंश (कोलियराज्य) को पश्चिमी सीमा नदि थियो। रोहिणी नदी पाल्पा जिल्लाको माथागढी गाउँपालिकाको चुरे क्षेत्रबाट सुरु भई रुपन्देही जिल्ला हुँदै दक्षिणमा भारतको उत्तर प्रदेश तर्फ बग्ने नदी हो। यो नदी भारतको गोरखपुरमा पुगेपछि राप्ती नदीमा मिसिन जान्छ ।
गौतम बुद्ध पार्क
गौतम बुद्ध पार्क पछिल्लो समय देवदहको मात्र नभएर रुपन्देही र आसपासको जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गैरहेको छ। देवदहको खैरेनी चोकबाट गोठादी मार्ग हुँदै २.५ किमीमा अवस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान पर्यटकको रोजाईको केन्द्र बनेको छ । हाल गौतम बुद्ध राष्ट्रिय उद्यानमा दैनिक रुपमा सयौ पर्यटक अवलोकनका लागि आउने गर्छन । विशेष गरि विदाको दिन पर्यटकको अत्यधिक घुइचो लाग्ने गर्छ । रुपन्देही संगै नवलपरासी, कपिलबस्तु र पाल्पा बाट समेत उद्यान अवलोकनका लागि आउने गरेका छन् ।
२०७६ सालमा ड्रिम देवदहको सहकार्यमा ललितकला प्रज्ञा प्रतिष्ठानले चलाइएको काष्ठकला कार्यशालाले सामुदायिक वनको मुहारनै फेरिदिएको छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको मावली स्थल भनेर चिनिने देवदह र गौतम बुद्धको जिवनकथा पढ्ने हरुका लागि राम्रो गन्तब्य समेत बनेको छ । देशका विभिन्न स्थानबाट आएका १७ जना कलाकारले काठका ढलेका मुढामा बुद्ध जीवनीसँग जोडिएका मूर्तिहरू कुंदेका छन्। तिनै मूर्तिहरू अहिले गौतमबुद्ध राष्ट्रिय उद्यानका प्रमुख आकर्षक बनेका छन ।
बुद्ध सामुदायिक बनको ८ हेक्टर क्षेत्रमा निर्माण गरिएको पार्कमा निर्माण गरिएको बुद्धसँग सम्बन्धित काठका मूर्तिहरू, सेल्फी ब्रिज, भुलभुले झरना, पानीको फोहोरा उक्त पार्कको मुख्य आकर्षण रहेका छन् । पार्क अवलोकनको लागि ३० रुपैयाँको टिकट काट्नुपर्छ भने पिकनिक लागि २५ जनाको समूहलाई २ सय र त्यो भन्दामाथि ४ सय रुपैयाँ लिने गरिएको छ, त्यसका अलावा बनभोज सेडका लागि ५ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ ।
स्मृति बनबाटिका
स्मृति सामुदायिक वन तथा उपभोक्ता समुहको देवदह ७ मा स्मृति बनबाटिका रहेको छ । देवदह शितलनगरको बन चौकीबाट उत्तर तर्फ रहेको स्मृति बनबाटिका पर्यटकको रोजाई बन्ने गरेको छ । नेपालका खयाती प्राप्त २५ जना मूर्तिकारहरुले थिम पार्कको अवधारणा अनुरुप कोलिय गणराज्य देवदह, बौद्ध साहित्य र बुद्धसंग सम्बन्धित पात्रहरु, बौद्ध दर्शन, शान्ति, प्रेम, सद्भाव र मानवीय एकता झल्काउने भावका मूर्तिहरु निर्माण गरि प्रदर्शनका लागि राखिएको छ ।
देवदह ताल/ मंगलणी पुष्करणी दह
देवदह - ९ घोडाहामा रहेको देवदह (ताल मंगलणी पुष्करणी दह) सिमसार क्षेत्रको रुपमा अवस्थी रहेको छ। यहाँ फुल्ने कमलको फुलले जो कोहिको मन लोभ्याउछ।
देवदह ताललाई थप व्यवस्थित गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धि भई आन्तरिक प्रबर्द्धनमा टेवा पुर्याउन मद्दत पुग्ने देखिन्छ ।
त्यस्तै देवदह ६ मा अवस्थित शिवालय सामुदायिक वनले संचालन गरेको जैविक विविधता पार्क, देवदहमा रहेका अन्य सिमसार क्षेत्र, विभिन्न पार्कहरु र हाल निर्माणाधीन रहेको उजेरी सामुदायिक होमस्टे, सिमिको लागि प्रख्यात देवदह - ६ सरनबारी लगायतका ठाउँ पर्यटकको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij