लुम्बिनी पाना, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनताको अवस्था बदल्ने आन्दोलनमा होमिन सर्वसाधारणलाई अपिल गरेको छ।अहिलेको व्यवस्थामा मुलुक कुनै पनि हालतमा समृद्धिको दिशामा पुग्न नसक्ने भन्दै जनताको अवस्था बदल्न व्यवस्था परिवर्तनको विकल्प नभएको भन्दै आन्दमा होमिन अपिल गरेको हो।
‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा फागुन १७ गते शनिबार रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत आमसभा हुन लागेको बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
आमसभाबारे जानकारी दिन बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । बुटवलको ट्राफिकचोकमा दिउँसो १२ बजेबाट सुरु हुने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता-कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने राप्रपा केन्द्रिय सदस्य तोयानाथ लम्सालले जानकारी दिए।
आमसभा सुरु हुनुअघि बुटवलको बसपार्कबाट र्याली निकालिने र उक्त र्यालीको नेतृत्व अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वय पाण्डे, प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले नेतृत्व गर्नेछन् । त्यस्तै लायन्स आँखा अस्पतालबाट निकालिने र्यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन् । देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij