शिक्षा
चैत १८, लुम्बिनी पाना । रुपन्देहीको देवदह नगरपालिकामा कक्षा -८ को आधारभूत तह परिक्षाको नतिजा सार्वजनिक भएको छ।परिक्षामा सहभागी विद्यार्थी मध्य ६६.०४ प्रतिशत विद्यार्थी उतिर्ण भएसङ्गै अघिल्लो वर्षको तुलनामा केही सुधार भएको भनिएको छ। तर देवदहका सबै विद्यालयको नतिजा हेर्ने हो भने त्यति संतोषजनक देखिदैन।यद्यपि क्रमिक रुपमा सुधार हुँदै गएको भने नकार्न सकिदैन।
परीक्षामा देवदहमा रहेका ३१ वटा सामुदायिक र संस्थागत गरि जम्मा १४८६ जना विद्यार्थीले परिक्षा फर्म भरेकोमा कक्षा ८ को परिक्षामा १४७४ विद्यार्थीले परिक्षा दिएका थिए। परिक्षामा सहभागी १४७४ विद्यार्थी मध्य ९५८ जना विद्यार्थी उतिर्ण भएका छन् ।
परिक्षामा न्यू लुम्बिनी बोर्डिङ स्कुल देवदह -५ बाट २६ जना विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत उतिर्ण भएका छन् ।यो सङ्गै देवदह नगरपालिकामा संस्थागत तथा निजी दुबैतर्फ शतप्रतिशत विद्यार्थी उतिर्ण हुने विद्यालय न्यू लुम्बिनी रहेको छ। त्यस्तै ग्रीनप्लान्ट आवासीय माविबाट ८४ जना विद्यार्थी सहभागी भएकोमा ८२ जना उतिर्ण भएका छन् ।प्रतिशतको हिसाबले ९७.६२ अर्थात सामुदायिक र संस्थागत तर्फ देवदह नगरपालिकामा दोस्रो सबैभन्दा बढी विद्यार्थी उतिर्ण हुन सफल भएका छन् ।
सामुदायिक तर्फबाट भने देवदह माध्यमिक विद्यालयबाट ७४ जना विद्यार्थी सहभागी भएकोमा ६३ जना विद्यार्थी उतिर्ण भएका छन् ।देवदह माविबाट ८५.१४ प्रतिशत उतिर्ण भइ सामुदायिक तर्फ सबैभन्दा बढी विद्यार्थी उतिर्ण हुन सफल भएका छन्।
परिक्षाको नतिजा अनुसार २ वटा सामुदायिक र २ वटा संस्थागत गरी ४ वटा विद्यालयबाट परिक्षामा सहभागी ४ जना विद्यार्थीको ४ जिपिए आएको छ। देवदह माविका निस्मा सुनार, महामाया भवानी माविका सुसन भणडारी ग्रीन प्लान्टका अंकित अर्याल र न्यू लुम्बिनीका कुशुम रेश्मिले ४ जिपिए प्राप्त गरेको देवदह नगरपालिका शिक्षा शाखा अधिकृत परशुराम ढकालले जानकारी दिनुुुभयो।
शैक्षिक नतिजालाई उत्कृष्ट कसरी बनाउने भनेर हामीले ४ जिपिए प्राप्त गरेका विद्यालयका प्रधानाध्यापकहरु सङ्ग जिज्ञासा राखेका थियौं ।
अघिल्लो वर्ष पालिकामा उत्कृष्ट भएर नगद पुरस्कार समेत प्राप्त गर्न सफल ग्रीन प्लान्ट आवासीय माविले यस वर्षपनी उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक राजिव सापकोटाका अनुसार विद्यार्थीको नतिजा सुधारका लागि सर्वप्रथम उनीहरुको भावना बुझेर शिक्षण गर्नुपर्ने बताउनुहुन्छ । घोक्ने र घोकाउने अनि लेखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दे बुझ्ने , बुझाउने अनि आफै प्रयास गर्न दिने परिपाटिको विकास गर्नु पर्ने र निरन्तर परीक्षा लिई बढि भन्दा बढी समय विद्यार्थीलाई क्रियाशील बनाए नतिजामा क्रमिक रुपमा सुधार आउने प्रधानाध्यापक सापकोटाको भनाई छ।
सामुदायिक विद्यालय तर्फ देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी प्रसाद पाण्डेले विद्यार्थीको सिकाइस्तर अनुसार कमजोर, औसत र उच्च क्षमताका विद्यार्थी पहिचान गरि सोही अनुसार सिकाइ क्रियाकलाप संचालन गर्ने, नियमित बाहेक आवस्यकता अनुसार अतिरिक्त कक्षा संचालन गर्ने, नियमित बाहेक निरन्तर विद्यार्थी मुल्यांकन संचालन गर्ने, अभिभावक संग निरन्तर सम्पर्कमा रहने र विद्यार्थी का क्रियाकलापको अध्ययन गर्ने भने नतिजा सुधार गर्दै लैजान सकिने धारणा राख्नुभयो।
त्यस्तै शतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल न्यू लुम्बिनी बोर्डिङ स्कुलका प्रधानाध्यापक विनोद थापाका अनुसार शैक्षिक नतिजा सुधार गर्न विद्यालय शिक्षक, विद्यार्थी र अभिभावकहरुको बिचमा सकरात्मक समन्वय र तालमेल हुनु जरुरी रहेको बताउनुभयो । शैक्षिक उपलब्धी हाँसिल गर्नको व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षण पद्धतीलाई अवलम्बन गर्नुपर्ने, किताबी ज्ञानमा मात्र नभएर व्यवहारिक र प्रयोगात्मक शिक्षण पद्धतीलाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने, आधुनिक प्रविधिमैत्री शिक्षणविधिको अधिकतम प्रयोग, सकरात्मक प्रतिस्पर्धाको वातावरण, पुरस्कार र सम्मानको व्यवस्था तथा कम क्षमताका विद्यार्थीहरुलाई सोही अनुसार सहज वातावरण सिर्जना गरि निरन्तर हौसला सिर्जना गरि सिकाई तर्फ अगाडी बढाउने तथा विद्यार्थीहरुमा पनि एकअर्कामा जिम्मेवार बनाई सहकार्य र समन्वयको वातावरण तयार गर्नुपर्ने उहाँको धारणा थियो।
गत वर्ष बिएलईमा आएको सतप्रतिशत नतिजालाई अर्थात गतवर्षको विरासतलाई कायम राख्नु साचिकै चुनौतीको रुपमा लिएको थिए र त्यो खुशी अथवा सफलताको खुशीलाई अवसर र चुनौतीको रुपमा लिदै शिक्षकहरुलाई जिम्मेवार बनाउँदै विद्यार्थी र अभिभावकहरुलाई पनि निरन्तर सकरात्मक उर्जा हौसला र जिम्मेवार र जवाफदेही बनाउदै आगामी दिनमा शैक्षिक गुणस्तर थप बढाउदै लैजाने प्रधानाध्यापक थापाले बताउनुभयो।
त्यस्तै ४ जिपिए प्राप्त गर्न सफल सामुदायिक विद्यालय महामाया भवानी माविका प्राचार्य ऋषिश्वर अर्यालका अनुसार विद्यार्थीलाई घोकाउने मात्र नभई व्यवहारीक ढङ्गबाट सिकाउन जरुरी रहेको बताउनुहुन्छ।विद्यार्थीहरुलाई घोकाउने परिपाटी दीर्घकालीन नहुने भन्दै व्यवहारिक र प्राविधिक ढङ्गबाट अध्ययन गराउन सकियोभने नतिजा सुध्रिन समय नलाग्ने प्रधानाध्यापक अर्यालले बताउनुभयो।
यस वर्ष नतिजामा सुधार आएको छ। तर ६६.०४ प्रतिशत प्रयाप्त होइन। यो दरलाई बढाउन अझै सिकाईस्तर सुदृढ गर्दै लैजानुपर्छ।यसका लागी, विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी सरोकारवाला सबैको सहकार्य आवश्यक छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij