लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका -४ स्थित भवानीपुरमा ३ दिने ऎतिहासिक रामनवमी मेला सुरु भएको छ। चैत २३ गते देखि २५ गते सम्म लाग्ने मेला शनिबारदेखि सुरु भएको हो।
देवदहको भवानीपुरमा राम नवमिको अवसरमा ३ दिन मेला लाग्ने, यस वर्ष विशेष के हुँदैछ, यस्तो छ मेलाको विशेषता https://lumbinipana.com/news/5530
मेलाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले मेला महोत्सव र सास्कृतिक सम्पदाहरु महत्त्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षण, प्रबर्द्धन र प्राचारप्रसार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। उपप्रमुख गुरुङले देवदहको पुरातात्त्विक क्षेत्रको उत्खनन गरिएको र पर्यटकीय क्षेत्रको डिपिआर तयार गरि व्यवस्थित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडी बढाउने कार्ययोजना बनाएको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, पर्यटनविद युवराज कडेल, महामाया भवानी माविका प्राचार्य ऋषिश्वर अर्याल, जनप्रीय माविका अध्यक्ष अमर लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको औचित्यमाथी पुष्टि गर्दै मेला आयोजक संस्था कोलिय राज्य बुद्द मावली क्षेत्र विकास समितिका अध्यक्ष लिल्ला वल्लब भट्टराईले परम्परागत रुपमा सयौं वर्षदेखी लाग्दै आएको मेलाको संरक्षण गर्न, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकहरुलाई भित्राउन, स्थानिय व्यापारलाइ प्रवर्द्धन सङ्गै सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उदेश्य सहित मेलालाई निरन्तरता दिएको बताउनुभयो।
मेलामा थारु समुदायको प्रचलित खेल टिकुलि दौड प्रतियोगिता संचालन, मेलालाई पृथक र ऎतिहासिक बनाउन भजन प्रतियोगिता संचालन हुने जनाइएको छ। नयाँ पुस्तालाई संस्कृतिको विषयमा ज्ञान हासिल गराउदै संस्कृति र पहिचानको जगेर्ना गर्ने हेतुले मौलिक प्रतियोगिताहरु संचालन गर्न लागिएको सास्कृतिक संयोजक दिनेश चौधरीले जानकारी दिनुभयो।भजन प्रतियोगिताको व्यवस्थापन उज्योलो लालटिन प्रतिष्ठानले गरेको छ।
ऐतिहासिक महत्व बोकेको मेला भर्न रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला साथै छिमेकि देश भारत देखि भक्तजनहरु पूजाआजा गर्न आउने गर्दछन् । मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५० देखि ६० लाख सम्मको व्यापार हुने र २ सय बढी व्यवसायीक स्टलहरु रहेका छन् ।
कार्यक्रम संस्थाका अध्यक्ष लिलाबल्लभ भट्टराईको अध्यक्षता, छबिलाल घर्ती र दिनेश चौधरीको संचालनमा भएको थियो।
मेलाको महत्त्व
देवदहको भवानीपुरमा लाग्ने चैते दशै/रामनवमी मेलाको बिशेष महत्व रहेको छ। मेला कहिले देखि लाग्न सुरु भएको उल्लेख नभए पनि तत्कालीन केरवानीका जमिन्दार भनेर चिनिने महेन्द्र बहादुर मुनाङ्कमीका हजुर बुवा हिक्मत बहादुर मुनाङ्कमीले हाल मेला लाग्ने क्षेत्रमा संसारीमाईको पूजापाठ गर्दै आएको र पछि मायादेवी मन्दिर क्षेत्रको उत्खनन भए पछि सोहि क्षेत्रमा राम नवमी मेला लाग्दै आएको स्थानीय बताउछन् ।
भवानीपुरमा २०६८ सालमा उत्खनन गर्दा मायादेवीको दरबार संग सम्बन्धित अवशेष भेटिएको र उक्त उत्खनन गरिएको क्षेत्रलाई संरक्षण गरेर राखिएको छ। मेला कहिले देखि सुरु भयो मेला सम्बन्धि वास्तविक इतिहास खोज्न अध्ययन,अनुसन्धान हुनु जरुरि छ।
मेलाको विशेषता
मेलामा विशेष गरि मिठाईका परिकारहरुको मूख्य आकर्षण रहने गर्छ। स्थानीय तथा छिमेकी जिल्ला नवलपरासी र पाल्पा बाट समेत मेला भर्न सयौं भक्तजन मन्दिर परिसरमा आउने गर्छन। मेलालाई बिशेष बनाउन सांस्कृतिक कार्यक्रमहरु समेत हुने गर्छ। यस अघि ड्रिम देवदहले मेलाको अवसर पारेर गौतम बुद्द,मायादेवी र देवदहका ऐतिहासिक स्थलहरुलई समेटेर फोटो प्रदर्शनी गरेको थियो।
रुपन्देही, नवलपरासी,कपिलबस्तु र भारत समेत बाट गरि ५ सय भन्दा बढी मिठाईका स्टलहरु, बिभिन्न जातिय परिकारका स्टलसंगै दैनिक उपभोग्य सामाग्रीको स्टल समेत रहने छ।
यस वर्ष मेलाको अवसर पारेर भजन प्रतियोगिता, थारु संस्कारको प्रख्यात खेल टिकुली दौड, स्थानीय संस्कृति झल्काउने विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति, स्थानीय गायन तथा नृत्यका आइडलका साथै अतिथि कलाकारहरुको प्रस्तुति, स्थानीय साङ्गितिक ब्याण्डको प्रस्तुति, स्वदेश तथा छिमेकी मुलुकका व्यावसायिक स्टलहरुको प्रदर्शनी हुँदैछ ।
साथै स्वतन्त्र भूत पूर्व सैनिक कल्याणकारी परिवार, स्थानीय आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर,प्राथमिक उपचार मेला भर्न आउने भक्तजनलाई नि:शुल्क पानीको व्यवस्था समेत गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij