देवदह । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदह–७, शाखा कमिटी र मदन आश्रीत स्मृति प्रतिष्ठानको आयोजनामा ३२ औं मदन भण्डारी स्मृति दिवसको अवसरमा जेष्ठ पार्टी सदस्य र एकल महिलालाई सम्मान गरिएको छ ।शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो।

सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य पूर्व लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले गणतन्त्रको विकल्प उत्तम गणतन्त्र र लोकतन्त्रको विकल्प उत्तम लोकतन्त्र भएकोले प्रतिगमनकारी तत्वलाई परास्त गर्नुको विकल्प नरहेको बताउनुभयो।
उहाँले राजनैतिक अस्थिरताका कारण देश पछाडि परेकोले देशलाई निकास दिन नेकपा एमाले र नेपाली काङ्ग्रेस वीच गठबन्धन गरेर सरकार निर्माण गर्नुपरेको बताउनुभयो । सरकारले अव्यवस्थित बसोवास र सुकुम्वासी समस्या समाधान गर्ने गरी तिव्ररुपमा काम गरिरहेको बताउनुभयो ।
विगतमा जेष्ठ सदस्यले पार्टीको विकास र संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै मदन भण्डारी स्मृति दिवसको अवसरमा सम्म्मान गरिएको शाखा कमिटीका अध्यक्ष रिता थापाले जानकारी दिए ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य श्रद्धा कुवर, नगर कमिटीका अध्यक्ष केशव भट्टराई, देवदह–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष धु्रवप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा ४३ जना जेष्ठ सदस्य र ७ जना एकल महिलालाई सम्मान गरिएको थियो ।
नेकपा एमाले देवदह–७, का शाखा कमिटी अध्यक्ष रिता थापाको अध्यक्षता, शाखा कमिटीका उपाध्यक्ष गीता सापकोटाको स्वागत र सचिव रेनुका पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij