लुम्बिनी पाना, देवदह । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम बहादुर रावलले देशको वर्तमान राजनीतिक र आर्थिक अवस्थामाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्। देशव्यापी रुपमा अभियान संचालन गरेका डा. रावलले देवदहमा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा युवा र पुजी पलायन डरलाग्दो गरि पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेपालको राजनीति दलहरूप्रति जनता निराश भएको उल्लेख गरे। "राजनीतिक दलहरूले जनताको आस्था र विचारमाथि अन्याय गरेका छन्," उनले भने।स्वार्थ र सत्ताको लागि विचार नमिल्दा समेत गठबन्धन गर्नुपर्ने स्थितिको कारण जनतामा निराशा छाएको उनको तर्क थियो।
उनका अनुसार योग्य र बौद्धिक व्यक्तिहरूलाई राजनीतिक दलहरूबाट पाखा लगाइएको छ, जसको परिणामस्वरूप अयोग्य नेतृत्वले मुलुकमा समस्या सिर्जना गरिरहेको छ। "अयोग्यहरूले नेतृत्व गर्दा जनताले दुख पाइरहेका छन्," रावलको भनाइ थियो।३ रावलले विदेशी ऋणको बोझ अत्यधिक बढेको उल्लेख गर्दै त्यसले अर्थतन्त्रलाई ध्वस्त बनाइरहेको बताए। "वैदेशिक ऋण तलब, भत्ता र भ्यु टावरमा खर्च हुन्छ, तर जनताका आधारभूत विकासका काम उपेक्षित छन्," उनले टिप्पणी गरे।
उनले पछिल्लो दशकमा झण्डै एक करोड नेपालीले देश छाडिसकेको उल्लेख गर्दै भने, "देशको माया गर्नेहरूलाई यहीँ बस्ने वातावरण छैन।" साथै, रावलले युवाशक्ति र पुँजी दुवैको पलायनले राष्ट्रिय भविष्यमाथि गम्भीर चुनौती खडा गरिरहेको बताए।
डा. रावल नेतृत्वको मातृभूमि जागरण अभियानले हालै देशका विभिन्न स्थानहरूमा राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरताजस्ता विषयमा चेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।रावलले यो अभियान जनताको निर्णायक अभियानको रुपमा स्थापित गरि मुलुकलाई समृद्धिको दिशामा लैजान सञ्चाल न गृएको बताउँदै यो अभियानमा सबै देशभक्त नागरिकहरुलाई जोडिन समेत आह्वान गरेका छन् ।
देवदहमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महा अभियानले डा. रावललाई स्वागत गर्दै समसामयिक विषयमा अन्तरक्रिया गरिएको अभियानका लुम्बिनी संयोजक शंकर अधिकारीले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij