स्वास्थ्य
काठमाण्डाै। सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय उल्लेख गरेको थियो ।मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा ऐन २०७४ अनुसार सबै मन्त्रालय, आयोग र निकायमा पहल थाल्ने निर्णय गरेका छन् ।
स्वास्थ्य बीमा ऐन–२०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले आन्तरिक तयारीसमेत थाल्नुभएको छ । उहाँले सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभाग, प्रदेश सरकारलगायतमा पहल थाल्ने निर्णय गर्नुभएको छ ।
यस्तै सबै पालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको छ । मन्त्रालयले सरकारी कर्मचारीका साथै सङ्गठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो ।
मन्त्रालयले पत्राचारका साथै आवश्यक थप व्यवस्था गर्ने गरी तयारीलाई अघि बढाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बिमा ऐनमा भए पनि लागू नभएको व्यवस्था कार्यान्वयनमा गएमा यसले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिने बताए । हामीकहाँ अहिले जोखिम वर्गले बढी बिमा गरेको अवस्था छ, उनले भने, त्यसले गर्दा सरकारले दिएको श्रोतमाथि दबाब परिरहेको छ । यदि सबै राष्ट्र सेवक स्वास्थ्य बिमामा आवद्ध हुने हो भने कार्यक्रम निकै व्यवस्थित बनाउन सकिन्छ ।
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ । यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij