बालबालिका राष्ट्रका अमूल्य सम्पत्ति हुन्। आजको पुस्ता नै भोलिको आधार स्तम्भ हो। उनीहरू घर–परिवारको खुशीको आधार मात्र नभई समाज र राष्ट्रकै उज्ज्वल भविष्यका धरोहर हुन्। अनुसन्धानअनुसार मानिसको मस्तिष्कको विकास गर्भमै ३० प्रतिशत, जन्मपश्चात् पहिलो वर्षमै २५ प्रतिशत, दोस्रो वर्षसम्म थप २५ प्रतिशत र बाँकी विकास पाँच वर्षसम्म पूरा हुने गर्दछ। त्यसैले गर्भधारणदेखि नै बालबालिकाको उचित हेरचाह र प्रारम्भिक बाल विकासमा लगानी गर्नु अत्यावश्यक हुन्छ।
बाल्यकालमा सिकाइका अवसर पाउने बालबालिका भविष्यमा दक्ष, आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न सक्छन्। यसले बेरोजगारी, गरिबी, असमानता र अपराध न्यूनिकरणमा ठूलो टेवा पुर्याउँछ। अभिभावकले घरमा दिएको माया, संस्कार र मार्गदर्शन, विद्यालयले प्रदान गरेको असल शिक्षा, र राज्यले तय गरेका बालमैत्री नीतिहरूलाई कार्यान्वयन गर्दा मात्र बालबालिकाको भविष्य सुनिश्चित हुन्छ।२ बालबालिकामा गरिएको उचित लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ, जसको लाभ अभिभावक, परिवार मात्र नभई सारा राष्ट्रले लिन सक्छ। शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा, सीप विकास, खेलकुद, मनोरञ्जन र सिर्जनात्मक अवसर बालअधिकारका आधारभूत पक्ष हुन्। गुणस्तरीय शिक्षा प्राप्त गर्दा सोच, ज्ञान र क्षमता विस्तार हुन्छ; स्वास्थ्य सेवा र पोषणले शारीरिक क्षमता बलियो हुन्छ; सुरक्षित वातावरणले सिर्जनशील, अनुशासन र जिम्मेवारीपनको विकास हुन्छ। त्यसैले प्रत्येक परिवारले बालबालिकालाई समान अवसरसहितको वातावरण उपलब्ध गराउनुपर्छ।
आज ६१ औँ राष्ट्रिय बालदिवसले हामीलाई बालबालिका प्रति अझ बढी जिम्मेवार बन्न स्मरण गराउँछ। नेपालको बालदिवसको इतिहास हेर्दा, वि.सं. २०२२ सालदेखि तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मी शाहले आफ्नो जन्मदिन (भाद्र ४) मा बालबालिकासँग मिठाई–फलफूल बाँडेर र नाचगान गराएर बालदिवस मनाउने चलन सुरु गर्नुभएको पाइन्छ। पछि उहाँकै पहलमा बालसङ्गठन (वालमन्दिर) स्थापना भई अनाथ बालबालिकाको संरक्षणको थालनी भयो। तर, वि.सं. २०६२/६३ को जनआन्दोलनपछि नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्रात्मक शासन व्यवस्था सुरु भयो। त्यसयता बडामहारानीको जन्मदिनलाई बालदिवसका रूपमा मनाउन बन्द गरियो। त्यसको सट्टा नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको दिन (सन् १९९० सेप्टेम्बर १४, अर्थात् २०४७ भदौ २९) लाई राष्ट्रिय बालदिवसका रूपमा मनाउन थालियो। यसरी मिठाई–फलफूल बाँडेर मनाइने बालदिवस बालअधिकारप्रतिको राष्ट्रिय प्रतिबद्धतासँग जोडियो।
नेपालको संविधान २०७२ ले बालअधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ। यसले बालसुरक्षा, बालविकास, बालसहभागिता र बालहितका विषयलाई समेटी सर्वाङ्गीण विकासको ग्यारेन्टी दिएको छ। यदि बालबालिकालाई गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकता र जीवनोपयोगी सीप प्रदान गर्न सकियो भने उनीहरू सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक बन्न सक्छन्। त्यसका लागि परिवार, समाज, विद्यालय र राज्य सबैको सहकार्य अपरिहार्य हुन्छ। समान अवसर, खेलकुद, कला, साहित्य र प्रविधिमा सहभागिताले उनीहरूलाई आत्मविश्वासी बनाउन मद्दत गर्दछ। विपरीत अवस्थामा बालबालिकालाई अवसरविहीन, अशिक्षित वा असुरक्षित बनाइए भने भोलिको राष्ट्र कमजोर हुन्छ।त्यसैले, बालबालिकामा लगानी गर्नु भनेको उनीहरूको मात्र भविष्य सुनिश्चित गर्नु होइन, राष्ट्रको समृद्धि र दिगो विकासको आधार निर्माण गर्नु पनि हो। अभिभावक, शिक्षक, समुदाय र राज्यको साझा प्रयास र उचित लगानीले मात्र यो लक्ष्य हासिल गर्न सकिन्छ।
विष्णु प्रसाद पौडेल
संस्थापक प्राचार्य, देवदह ईङलिस बोर्डिङ स्कूल
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij