लुम्बिनी पाना ।रूपन्देही–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रज्ज्वल बोहरा ले युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवारी दिएका बोहराले वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। चुनावी अभियान तथा घरदैलो कार्यक्रममा मतदातासँग संवाद गर्दै उनले कृषि, पशुपालन, कृषि प्रशोधन उद्योग, साना तथा मझौला उद्यम, पर्यटन तथा सीपमूलक व्यवसायलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरेका छन्।
“रूपन्देही–१ लाई उत्पादन र रोजगारीको केन्द्र बनाउने हाम्रो लक्ष्य हो,” उनले भने, “युवालाई विदेश जान बाध्य बनाउने अवस्था अन्त्य गरेर आफ्नै भूमिमा सम्मानजनक रोजगारी सिर्जना गरिनेछ।”
उनका अनुसार युवालाई सीप, प्रविधि र पूँजीसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय तह, सहकारी संस्था तथा बैंकहरूसँग सहकार्य गरी सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, आधुनिक प्रविधि हस्तान्तरण गर्ने तथा उत्पादित वस्तुको सुनिश्चित बजार व्यवस्थापन गर्ने योजना अघि सारिएको छ। त्यसैगरी, बेरोजगार युवाका लागि लक्षित सीप विकास तालिम, स्टार्टअप अनुदान, कृषि यान्त्रीकरण र उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याइने उनले बताएका छन्।
विदेशबाट फर्किएका युवाको अनुभव र सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाइने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। राप्रपाको आर्थिक दृष्टिकोण अनुसार उत्पादन, रोजगारी र आत्मनिर्भरता नै समृद्धिको आधार भएको उल्लेख गर्दै बोहराले युवा शक्तिलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्ने अठोट दोहोर्याएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij