देवदह, लुम्बिनी पाना । रुपन्देही क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्री ले वर्तमान अवस्थामा युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ। स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेशिन बाध्य भएको उल्लेख गर्दै उहाँले अब देशभित्रै रोजगारी सिर्जना गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो।
रुपन्देही–१ अन्तर्गत देवदह र तिलोत्तमाका विभिन्न वडामा आइतबार आयोजित घरदैलो तथा मतदातासँग सुझाव संकलन कार्यक्रममा बोल्दै उहाँले इरान, इराक तथा खाडी मुलुकमा देखिएको पछिल्लो घटनाक्रमले नेपाली युवालाई रोजगारी संकटमा पार्न सक्ने खतरा बढाएको उल्लेख गर्नुभयो। “अब मुलुकमै युवालाई रोजगारीको ग्यारेन्टि गर्ने सरकार आवश्यक छ,” उहाँले भन्नुभयो।
खत्रीले युवालाई रोजगारी उपलब्ध गराउने स्पष्ट योजना कांग्रेससँग मात्र रहेको दाबी गर्दै पार्टी युवाको ढुकढुकीका रूपमा काम गर्ने बताउनुभयो। गएको भदौमा भएको जेनजी (नवयुवा) आन्दोलनलाई स्मरण गर्दै उहाँले युवाको रगत बगाउने अवस्थाको अन्त्य गर्न सुशासनमैत्री सरकार र रोजगारीमैत्री नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिँदै आगामी सरकारले यी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। “कांग्रेस अहिले बदलिएर आएको छ,” उहाँले भन्नुभयो, “बदलिएको कांग्रेसले आम नागरिकका चाहना र भावनालाई सम्बोधन गर्दै मुलुकलाई विकासको दिशामा अघि बढाउनेछ।”
तिलोत्तमामा आयोजित घरदैलो कार्यक्रममा जिल्ला सभापति रामकृष्ण खनाल ले देशलाई सही दिशामा डोर्याउन कांग्रेस मात्र सक्षम रहेको दाबी गर्नुभयो। उहाँले मुलुकको विकास र युवाका आकांक्षा पूरा गर्न कांग्रेसलाई मतदान गरी बहुमतको सरकार बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रीय सचिव विजय गुरुङलगायतका नेताहरूको सहभागिता रहेको प्रचार–प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij