लण्डन। बेलायतमा 'मे'पछि मंगलबार एकै दिन कोरोना भाइरसबाट सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले जनाएअनुसार बेलायतमा एकै दिन ३ सय ६७ जनाको मृत्यु भएको हो । योसँगै कुल मृतकको संख्या ४५ हजार ४५५ पुगेको छ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जोन्स हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार बेलायतमा अहिलेसम्म कुल ९ लाख २० हजार ६६४ जना संक्रमित भएका छन् । बेलायतका पब्लीक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले सङ्क्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, 'निरन्तर उस्तै छ ।'
उनले अहिलेसम्मको प्रवृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने अनुमान समेत गरेका छन् । 'हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौँ, अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन्, यस बारेमा अझ
गम्भीर हुन जरुरी छ, अझ धेरै सूचित हुन आवश्यक छ,' उनले भने ।
बेलायती राष्ट्रिय तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र सङ्क्रमितहरुको हप्ताभरीको संख्यामा पनि बृद्धि भएको देखिएको छ । बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij